ताप्लेजुङमा ११३ जना मुटुरोगी फेला

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, २० कात्तिक  / ताप्लेजुङमा जनसङ्ख्याका अनुपातमा मुटु रोगीको सङ्ख्या उल्लेख्य भएको पाइएको छ । सदरमुकाम फुङ्लिङमा शुक्रबार, शनिबार र आइतबार गरी तीन दिन सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा फेला परेका मुटुरोगीको सङ्ख्याका आधारमा जिल्लाको जनसङ्ख्याको अनुपातमा मुटु रोगी उल्लेख्य भएको पाइएको हो । ताप्लेजुङको जनसंख्या २०६८ को जनगणनाअनुसार एक लाख २७ हजार ४६१ रहेको छ ।

 फुङ्लिङमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा बिरामीको जाँच गर्दै मुटु विशेषज्ञ विदेशी डाक्टर क्याटेरिना डोनिनो । तस्बिर : प्रयास ।

सेफ द हर्ट (मुटु जोगाऊँ) नामक संस्थाको प्राविधिक सहयोगमा सञ्चालित तीन दिने निःशुल्क शिविरमार्फत एक सय १३ जना मुटु रोगीको पहिचान भएको छ । विशेषगरी मुटु, हाडजोर्नी र स्त्री रोगलाई लक्षित गरी आयोजित स्वास्थ्य शिविरमा कुल चार हजार तीन सय ७६ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा उक्त सङ्ख्या बराबर मुटु रोगीको पहिचान भएको हो ।

शिविरको नेतृत्व सम्हाल्नुभएका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर अनिल भट्टराईका अनुसार बाथ र ज्वरोका कारणबाट यहाँका नागरिक मुटु रोगी भएका र रोग पहिचान भएकामध्ये २५ जना जन्मजात मुटु रोगी छन् । यस्तै १० जनाको मुटुको भल्व फेर्नुपर्ने प्रकृतिका रहेका छन् भने ११ जनालाई मुटु रोगका कारण हृदयघातको सम्भावना देखिएको डाक्टर भट्टराईले जानकारी दिनुभयो । दुई जना मुटुरोगी गम्भीर प्रकृतिका भेटिएकाले उनीहरुको तत्काल शल्यक्रियासहित उपचार नगरे ज्यान नै जानसक्ने जोखिम भएकाले थप उपचारका लागि काठमाडौं सिफारिस गरिएको पनि भट्टराईले बताउनुभयो ।

यस्तै सात सय ७८ जना महिलाको स्वास्थ्य परीक्षण गरिएकामा ३२ जना स्त्रीरोगी फेला परेका पनि डाक्टर भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा एक हजार दुई सय १० जनालाई ईसीजी सेवा प्रदान गरिएको थियो । सेफ द हर्टको प्राविधिक सहयोगमा हालसम्म देशका विभिन्न जिल्लामा ४४ वटा स्वास्थ्य शिविर सञ्चालन गरिएकामा सबैभन्दा बढी मुटुरोगी ताप्लेजुङमा फेला परेका पनि उहाँले बताउनुभयो । उहाँले यस शिविरमा सबै रोगीको सहभागिता हुन नसक्ने बताउँदै तुलनात्मक रुपमा यस जिल्लामा अन्यत्र हेरी रोगीको सङ्ख्या धेरै हुनसक्ने उहाँको भनाइ छ ।

यता शिविरमार्फत पहिचान भएका मुटु रोगी तथा स्त्रीरोगीलाई बिरामीको प्रकृतिअनुसार वर्ष दिनभित्र सबैको उपचार गरिने पनि डाक्टर भट्टराईले बताउनुभयो । कोही बिरामीको शल्यक्रिया गरेर र कोहीलाई औषधि सेवनमार्फत क्रमशः उपचारको व्यवस्था मिलाइने शिविर आयोजक समन्वय समितिका संयोजक अग्नि पौडेलले जाकारी दिनुभयो । पौडेलका अनुसार सेफ द हर्टको सहयोगमा सबै बिरामीको निःशुल्क उपचार गराइने छ ।

शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर भट्टराईको नेतृत्वमा दुईजना विदेशी (इटालियन) सहित २७ जना विशेषज्ञ डाक्टर अन्यसमेत ७० जना बढी स्वास्थ्यकर्मीको टोली संलग्न रहेको थियो । जिल्ला अस्पताल र डिचेन डोङ्ला आँखा उपचार केन्द्रमा शिविर सञ्चालन गरिएको थियो । सुरुमा कातिक १६ र १७ गते अर्थात शुक्रबार र शनिबार दुई दिनका लागि मात्र शिविर आयोजना गरिने तयारी गरिएको भए पनि सेवाग्राहीको चाप बढेपछि शिविरको अवघि थप एक दिन बढाइएको हो ।

उता सेफ द हर्टको सहयोगमा सञ्चालित शिविरमार्फत हिमाली जिल्ला ताप्लेजुङका करिव चार हजारले स्वास्थ्य परीक्षण गराउने र रोगको पहिचान गर्न पाउनु ठूलो अवसर भएको स्थानीय स्तरमा गठित स्वास्थ्य शिविर मूल समारोह समितिका संयोजक तथा जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेनले बताउनुभयो । उक्त अवसरसँगै एक सय १३ जना मुटु र ३२ जना स्त्रीरोगी पहिचान भई उनीहरुले निःशुल्क उपचार सेवा पाउने अवस्था सृजना हुने बिरामी र उहाँका परिवारलाई ठूलो राहत मिलेको मादेनको भनाइ छ ।

यसैबीच यस स्वास्थ्य शिविर सञ्चालनका लागि ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य योगेश भट्टराईसहित काठमाडौंमा बासोबास गर्ने ताप्लेजुङबासीहरुको संस्था ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंको पहल रहेको थियो । त्यस्तै जिल्लाबाट प्रनिनिधित्व गर्ने १ नम्बर प्रदेशसभाका सदस्यहरु र अन्य सरोकारवाला व्यक्ति तथा संस्थाको समेत शिविर आयोजना गर्नका लागि पहल साथै प्रयत्न रहेको थियो ।

 

 


प्रतिक्रिया दिनुहोस्