मेरिङ्देनद्वारा दोभानबजार अनुगमन

अरुण पोष्ट समाचारदाता

ताप्लेजुङ, २० कातिक / संघीयता कार्यान्वयनसँगै सरकार सञ्चालनका लागि आ–आफुमै स्वायत्त रहेका ताप्लेजुङका स्थानीय तहले आफ्नो कार्यक्षेत्रभित्र बितरित वस्तु तथा सेवाको प्रभावकारिता अनुगमन गर्ने अभ्यास प्रयोग गर्न थालेका छन् । फुङ्लिङ नगरपालिका पछि मेरिङ्देन गाउँपालिकाले जिल्लाकै दोस्रो ठूलो मानिएको दोभान बजारका पसलहरुको अनुगमन गरी पसलहरुमा भेटिएका म्याद गुज्रेका तथा अखाद्य वस्तु नियन्त्रणमा लिएर नष्ट गरेको छ भने बैधानिक प्रक्रिया पूरा गर्न ७ दिनको म्याद दिएको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतका अनुसार पछिल्लो चरण सोमबारसँगै तीन दिन छड्के जाँचमार्फत दोभान बजारका खुद्रा तथा थोक (होससेल) पसलहरुको अनुगमन गरिएको हो । सोमबार दोभान बजारका ५ वटा थोक पसलहरुको अनुगमन गरिएको बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार अनुगमनका क्रममा फेला पारिएका अखाद्य वस्तु सोही दिन नष्ट गरिएको छ ।

                                            मेरिङदेन गाउँ पालिका प्रमुख गणेश बहादुर लिम्बु

यसअघि अघिल्लो दुई दिनको अनुगमनबाट फेला पारी मुचुल्का उठाएर राखिएका अखाद्य वस्तु पनि सोमबारै नष्ट गरिएको प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताउनुभयो । उहाँका अनुसार सबैभन्दा बढी पेय पदार्थ जस्तै–स्प्राइट, कोक, फ्यान्टा सहितका जुस आइटमका सामग्री उपभोग गर्न नमिल्ने प्रकृतिका भेटिएका थिए । म्याद नाघेका, लेबल नलागेका र सड्न लागेका सामग्री नियन्त्रणमा लिएर नष्ट गरिएको बस्नेतले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूले उपभोक्ताको खाद्य अधिकार बिपरित हुनेगरी व्यवसायिक कारोबार सुहाउँदिलो नहुने बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत बस्नेतले म्याद नाघेका सामग्रीलाई आयातकर्ता समक्ष फिर्ता गर्नुपर्ने अवस्थामा वा व्यवसायी आफैंले नष्ट गर्नुपर्ने भए बेग्लै प्याक गरेर बेच्न नमिल्ने सामग्री भनेर छुट्टै राख्न व्यवसायीलाई सुझाएको जानकारी दिनुभयो । उहाँले सम्बन्धित स्थानीय सरकारमा दर्ता नभएका व्यवसायीलाई तत्काल दर्ता प्रक्रियामा आवद्ध हुन, पान र भ्याटका कागजातहरु सबैले देख्ने ठाउँमा राख्न, मूल्यसूची र साइनबोर्ड तत्काल राख्न व्यवसायीलाई निर्देशन दिएको जानकारी दिनुभयो ।

इलाका प्रहरी कार्यालय दोभानका प्रमुख प्रहरी निरीक्षक बिनोद निरौलाले उपभोक्ताको हितलाई ध्यानमा राखेर बैधानिक ढंगले व्यवसाय सञ्चालन गर्नु व्यवसायीको पहिलो धर्म भएकोले यसको परिपालनामा कञ्जुस्याँइ नगर्न आग्रह गर्नुभएको छ । उद्योग बाणिज्य संघ दोभानका अध्यक्ष चन्द्रप्रसाद पौडेलले व्यवसाय दर्तादेखि मूल्यसूची सम्मका बिषयमा आफ्ना व्यवसायिक सदस्यलाई नियमित जानकारी दिने संघको अभियान जारी रहेको बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्