देउसी,भैलो राति १० बजेसम्म मात्रै, घट्दै देउसीको रौनक

काठमाडौ‌ कार्तिक २२,/ काठमाडौं उपत्यकामा राति १० बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाइने भएको छ। रातको समयमा हूलदंगा र आपसी झगडा हुन सक्ने भन्दै प्रहरी प्रशासनले देउसी–भैलोका लागि निश्चित समय निर्धारण गरेको हो।

गत वर्ष पनि १० बजेसम्म मात्रै देउसी–भैलो खेल्न पाउने व्यवस्था थियो । यो व्यवस्थाले तिहारमा रातको समय देउसी–भैलो खेल्न प्रतिबन्ध लगाएको छ। ‘१० बजेपछि देउसी–भैलो खेल्न नपाइने सूचना जारी गरिसकेका छौं,’ महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वसन्त लामाले भने, ‘पटका पडकाउन निषेध गरिएको छ।’

देउसी–भैलो खेल्ने बहनामा राति आपराधिक गतिविधि पनि हुन सक्ने आशंका गर्दै प्रशासनले समय निर्धारण गरेको जनाएको छ। यस्तै तिहार मनाउने क्रममा आतिशबाजी, पटका, भुइँचम्पाजस्ता प्रज्वलनशील पदार्थको उत्पादन, आयात, बिक्रीवितरण र प्रयोग नगर्नसमेत आग्रह गरेको छ।

तीन वर्षअघि गृह मन्त्रालयले देउसी–भैलो खेल्ने समय साँझको ७ बजेसम्म तोकेपछि चौतर्फी आलोचना भएको थियो । सर्वसाधारणको विरोधपछि गृह मन्त्रालयले दुई घण्टा समय थप गर्नुपरेको थियो। चाडपर्वका बेला सुरक्षा व्यवस्थालाई नियन्त्रणमा राख्न निश्चित समय तोक्ने गरेको लामाले बताए । पछिल्लो समय काठमाडौं उपत्यकामा देउसी–भैलोको माहोलसमेत विस्तारै घटदै गएको छ। आजको कान्तिपुर दैनिकमा यो खबर छापिएको छ।


प्रतिक्रिया दिनुहोस्