रक्तसञ्चार केन्द्रको पहल

बैतडी, २३ कात्तिक / जिल्ला अस्पतालमा पहिलो पटक रक्तसञ्चार केन्द्र ९ब्लड बैंक०को स्थापना हुने भएको छ । अस्पतालमा आउने बिरामीलाई आवश्यक पर्ने रगत सहज रुपमा उपलब्ध गराउन ब्लड बैंकको स्थापना गर्न लागिएको हो ।

चालु आव २०७५/७६ भित्र नै जिल्ला अस्पतालमा ब्लड बैंक स्थापना गरिनेछ । सुदूरपश्चिम प्रदेश सरकारले जिल्ला अस्पतालमा ब्लड बैंक स्थापनाका लागि चालु आवमा ब्लड बैंक स्थापना गर्ने गरी रु ३० लाख विनियोजन गरेको छ । प्रसूति गराउने आमा, दुर्घटनामा परेका घाइते तथा शल्यक्रिया गर्नुपर्ने बिरामीका लागि तत्काल रगतको व्यवस्था गर्न ब्लड बैंकको स्थापना गर्न लागिएको प्रदेश सांसद लीलाधर भट्टले बताउनुभयो ।

प्रसूति शल्यक्रिया, दुर्घटनामा परेका घाइते तथा शल्यक्रिया गर्नुपर्ने बिरामीलाई रगतको आवश्यकता पर्दा नेपाली सेना र नेपाल प्रहरीको भर पर्नुपर्ने हुन्छ । ब्लड ग्रुप नमिल्ने समस्याले धेरै बिरामीलाई अन्यत्रै सिफारिस गरी पठाउनुपर्ने बाध्यता रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा जगदीशचन्द्र विष्टले बताउनुभयो । रगतको अभावमा गर्भवती र अन्य बिरामीको मृत्युसमेत हुने गरेको छ ।

यसैबीच सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले चालु आवमा जिल्ला अस्पताललाई नमूना अस्पताल बनाउन रु ५० लाख विनियोजन गरेको छ । प्रदेश सरकारको १४ स्वास्थ्य संस्थामा प्रसूति केन्द्र भवन निर्माण गर्ने लक्ष्य छ । दशरथचन्द नगरपालिका–१० रातामाटामा रु २० लाख, दशरथचन्द नपा–५ कुरकट्टयामा रु २० लाख, पाटन नपा–१ पदमपुरमा रु २० लाख, सुर्नया गापा–३ मा रु २० लाख, शिवनाथ गापा–३ वधलामा रु २० लाख, शिवनाथ गापा–२ पोखरामा रु २० लाख, दोगडाकेदार गापा–१ गोरङ्गमा रु २० लाख, दोगडाकेदार गापा कफलकोटमा रु २० लाख, दोगडाकेदार गापा–७ चडेपानीमा रु २० लाख, डिलासैनी गापा गोकुलेश्वरमा रु २० लाख, डिलासैनी गापा–७ मा रु २० लाख, पुनपा–४ मा रु २० लाख, पञ्चेश्वर गापा–२ मा रु २० लाख तथा सिगास गापा–७ न्वाघरमा रु २० लाख विनियोजन गरेको छ ।

पालिकास्तरको स्वास्थ्य सेवा सुदृढीकरणका लागि दशरथचन्द नपालाई रु १८ लाख, दोगडाकेदार गापालाई रु १८ लाख र डिलासैनी गापालाई रु १८ लाख खर्च गर्ने गरी विनियोजन गरेको छ । रासस


प्रतिक्रिया दिनुहोस्