सुरुङ खनेर ४ घरमा १३ लाख बढीको चोरी

रौतहट /  रौतहटको कटहरिया नगरपालिका वडा नम्बर ४ स्थित हर्षाहा गाँउमा शनिवार राती सुरुङ खनेर ४ वटा घरमा चोरी भएको छ । चोरहहरुले नगद, गरगहना, लत्ताकपडा गरी १३ लाख बढीको धनमाल चोरेर लगेका हुन् ।

स्थानिय मनोज यादवको घरबाट १० हजार नगद, एक थान सामसुङ कम्पनीको मोबाईल सेट, तथा ६ लाख बराबरको १० तोला सुनका गहना, स्थानीय जगत यादवको घरबाट ५० हजार नगद, एक थान ल्यापटप र छठ पर्वका लागि खरीद गरीएको ३२ हजार बराबरको कपडा चोरेर लगेको पीडित परिवारले जनाएको छ ।

त्यसैगरी,फेँकुदाशको घरबाट एकथान सामसुंग कम्पनीको मोबाइल, नगद तथा गरगहना गरी तीनलाख बराबरको धनमाल चोरी भएको ईलाका प्रहरी कार्यालय कटहरियाका सई आमोद कुमार यादवले जानकारी दिएका छन।

वीरेन्द्र चौरसीयाको घरबाट नगद तथा गरगहना गरी एकलाख ५० हजार समेत गरेर १३ लाख बढिको धनमाल चोरेर लगेको सई यादवले बताए । चोर समुहले चारवटै घरमा सुरुङ खनेर घर भित्रका टिनका बाक्सा बाहिर ल्याएर महंगा सामानहरु चोरेर लगेको पीडितहरुले बताएका छन् ।

घटनाको आवश्यक अनुसंधान तथा चोरहरुको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्