पाउल पोग्बाले म्यानचेस्टर सिटीसँगको डर्बी नखेल्ने सम्भावना

आइतवार, कार्तिक२५,  म्यानचेस्टर / म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले आइतबार हुने म्यानचेस्टर सिटीसँगको डर्बी खेल गुमाउने सम्भावना देखिएको छ । शुक्रबार क्लबको अभ्यास गुमाएपछि पोग्बा डर्बी खेलमा उत्रने सम्भावना कम देखिएको हो ।

युभेन्ट्सविरुद्ध बुधबार च्याम्पियन्स लिगको खेलमा २५ वर्षे पोग्बा पुरा समय खेलका थिए । जुन खेल युनाइटेडले २–१ ले जितेको थियो । युनाइटेडले भने सामान्य चोट भएका कारण विश्वकप विजेता पोग्बा आइतबार सिटीविरुद्ध हुने खेलमा उत्रने जनाएको छ । पोग्बाले टोलीका अन्य खेलाडीसँग अभ्यास नगरेपनि शुक्रबार पोग्बाले इन्डोर अभ्यास गरेको बताइएको छ ।

युनाइटेडका स्ट्राइकर रोमेलु लुकाकु सिटीविरुद्ध खेल्नेमा पहिला देखि नै शंका छ । ह्यामस्ट्रिङ समस्याका कारण उनले बोर्नमाउथ र युभेन्ट्ससँगको खेल गुमाएका थिए । यद्दपी लुकाकुले शुक्रबार टोलीका अन्य खेलाडीका साथ अभ्यास गरेका छन् ।

‘लुकाुकले टोलीका साथ अभ्यास गरेका छन्,’ युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले भने, ‘अझै एक सेसन अभ्यास छ । त्यसपछि सकारात्मक जवाफ आएमा उनी खेल्नेछन् । तर अहिले उनले अभ्यास गरे मात्र भन्न सकिन्छ । त्यसपछिको जवाफ अहिले भन्न सकिन्न ।’एजेन्सी


प्रतिक्रिया दिनुहोस्