आफ्नैे घरमा आगो लगाउने पक्राउ, परिवारको बिचल्ली

अरुणपोष्ट सम्वाददाता
ताप्लेजुङ,२५ कात्तिक । ताप्लेजुङमा रिसको झोँकमा एक व्यक्तिले घरमा आगो लगाएका छन् । जिल्लाको मिक्वाखोला गाउँपालिका वडा नं. २ खोक्लिङका ३६ वर्षीय दिनेश शेर्पाले शुक्रबार राती आफ्नै घरमा आगो लगाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक लक्ष्मणबहादुर थापामगरका अनुसार घरमा परिवारभित्र सामान्य विवाद हुँदा रिसको झोँकमा शेर्पाले घरमा आगो सल्काएका हुन् । राति करिव ९ बजेतिर सल्काएको आगोले घर पूर्ण रुपमा जलेर नष्ट हुँदा करिव २५ लाख रुपियाँ मूल्य बराबरको क्षति भएको छ ।

प्रहरी निरीक्षक थापा मगरका अनुसार घरभित्र भएको अन्नपात, भाँडावर्तन, लत्ताकपडा लगायतका सम्पूर्ण सामग्री जलेर नष्ट भएको थियो । उक्त घरमा ८८ वर्षीया आमा लाक्पीमाया शेर्पासहित दिनेशकी श्रीमती, दुईजना बालबच्चा समेत पाँच जनाको परिवार बस्दै आएका थिए । आगलागी पछि पीडित परिवार छिमेकीको शरण लिएर बस्दै आएका छन् भने घरमा आगो सल्काउने शेर्पालाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान थालेको छ ।


प्रतिक्रिया दिनुहोस्