मेसी पुनरागमन भएको खेलमा बार्सिलोना पराजित

बार्सिलोना / स्पेनिस ला लिगा अन्तर्गत आइतबारको खेलमा कप्तान लिओनेल मेसीले पुनरागमन गरेको खेलमा बार्सिलोना रियल बेटिससँग ४-३ ले  पराजित भएको छ ।


पाहुना टोली बेटिसका लागि जुनियर फिर्पोले २० औं मिनेटमा अग्रता दिलाएका थिए ।  त्यसको १४ मिनेटपछि जोआकिनले बेटिसको अग्रता दोब्बर पारे । उनलाई पूर्व बार्सिलोना खेलाडी क्रिस्टियन टेलोले असिस्ट दिए । पहिलो हाफमा २-० ले पछाडी परेको बार्सिलोनाले दोस्रो हाफको लागि मिडफिल्डर आर्थर मेलोको स्थानमा आर्टुरो भिडाललाई मैदान प्रवेश गराएको थियो ।

दोस्रो हाफको सुरुवातमा बार्सिलोनाले केहि अवसर सिर्जना गरेपनि गोल अन्तर कम गर्न असफल रहयो । ६८ औं मिनेटमा लिओनेल मेसीले पेनाल्टीमा गोल गर्दै गोलअन्तर घटाए । तर त्यसको तीन मिनेटमा नै बेटिसले २ गोलको अग्रता पुन कायम गर्यो ।

भिडालले ७९ औं मिनेटमा गोल गर्दै पुनरागमनको आशा जगाए । तर इभान राकीटिच ८ मिनेट समय बाँकी रहँदा दोहोरो पहेंलो कार्ड खाँदै मैदान छाड्न बाध्य भएपछि बार्सिलोना खेलमा फर्कने सम्भावना पातलियो ।  फिर्पोको पासमा सहज गोल गर्दै कानालेसले २ गोलको अग्रता कायम राखे । इन्ज्युरी समयमा लिओनेल मेसीले गोल फर्काउँदै थोरै आशा जगाएपनि अंक खोस्न भने सकेनन् । उनले भिडालको पासमा सहज गोल गरेका थिए ।

यस हारसँगै लिग तालिकाको शीर्ष स्थानमा बार्सिलोनाको अग्रता १ अंकमा झरेको छ । बार्सिलोनाको १२ खेलमा २४ अंक छ भने एटलेटिको म्याड्रिड र अलाभेसको २३ अंक छ  । एजेन्सी


प्रतिक्रिया दिनुहोस्