‘सरकारको ध्यान अब विकास निर्माणमा’

अरुण पोस्ट समाचारदाता

ताप्लेजुङ, २६ कात्तिक  / उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारको ध्यान अब विकास निर्माणमा केन्द्रित भएको बताउनुभयो । नयाँ संबिधान निर्माणपछि राज्य सञ्चालनका लागि चाहिने कानुन निर्माणलाई प्राथमिकता दिनुपर्दा जन अपेक्षाअनुसार विकासले गति लिन नसकिरहेको अवस्थामा अब भने सरकारको ध्यान विकास निर्माणतर्फ केन्द्रित हुने मन्त्री पोखरेलले बताउनुभयो ।

आइतबार बिहान फुङ्लिङमा सञ्चारकर्मीसँग कुराकानी गर्नुहुँदै रक्षामन्त्री पोखरेल । तस्बिर : प्रयास ।

आइतबार प्रसिद्ध तीर्थस्थल पाथीभराको दर्शन गरेर फर्कने क्रममा सदरमुकाम फुङ्लिङमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै मन्त्री पोखरेलले बिना कानुन राज्य सञ्चालन पद्धतिमै समस्या आउने हुँदा सरकारले सबैभन्दा पहिले विकास निर्माणमा भन्दा प्राथमिकता कानुन निर्माणमा दिनुपरेको बताउनुभयो । पोखरेलले भन्नुभयो, “कानुन निर्माणको समयमा विकासका कार्य नभएका होइनन् तर, जनताले आशा गरेबमोजिम विकास निर्माणको गति भने अघि बढ्न नसकेको हो ।”

२०७२ साल पछिको सङ्क्रमणकालिन समयबाट सृजित थुप्रै समस्या निवारण गर्दै नयाँ संबिधानअनुसार सङ्घीयताको कार्यान्वयनमा तल्लिन सरकारका अघि अझै चुनौती र समस्याको चाङ रहेको बताउनुहुँदै पोखरेलले ती सबै बिषयको सम्बोधन गर्नमा सरकार कठिबद्ध रहेको बताउनुभयो । अब जनताले गुनासो गर्नु नपर्ने गरी सरकारले क्रमशः जनताका आवश्यतालाई सम्बोधन गर्दै लैजाने कुरामा ढुक्क हुन पनि उहाँले आग्रह गर्नुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्यसमेत रहनुभएका मन्त्री पोखरेलले कानुन निर्माणको धेरै प्रक्रिया करिव पूरा हुँदै गएकाले सरकारको अबको समयसँगै सरकारको नेतृत्व गर्दैआएको नेकपा सिङ्गो पार्टी नै अहिले देशको विकास निर्माणमा केन्द्रित भइसकेको बताउनुभयो । आगामी केही समयभित्रै विकास निर्माणमा परिवर्तन आउनेगरी विकासको कामले तीब्रता पाउने पनि उहाँको भनाइ छ ।

यता सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको भनी पार्टीभित्रका केही नेताले गरेको सरकारको आलोचना स्वभाविक भएको उहाँले बताउनुभयो । सरकार राम्रोसँग चलोस् र जनताको अपेक्षा पूरा गरोस् भनेर शुभेच्छासहित आलोजना गर्नु नराम्रो बिषय नभएको उहाँको तर्क छ । “कुनै काम नगरी सरकार सुतेकै हो भनेर कसैले भन्छ भने त्यो फगत आरोप मात्र हुने छ” उहाँले बताउनुभयो ।

संबिधान निर्माणसँगै सङ्घीयता कार्यान्वयन पछिको पहिलो निर्वाचित सरकार भएकोले अस्तव्यस्त भएको देशलाई गतिशील बनाउन सरकारले केही समय खर्चिनु नै पर्ने अवस्था रहेको उहाँले पोखरेलले बताउनुभयो । पार्टी र सरकारका बीच तादम्यता नमिलेको भन्ने बिषय बाहिर आएका छन् नि ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा नेता पोखरेलले दुई ठूला कम्युनिस्ट पार्टी बीचको एकताबाट डराएकाहरुले यस्तो प्रोपोगाण्डा फैलाएको हुनसक्ने उहाँले बताउनुभयो । अहिले सरकार सञ्चालनका क्रममा नेकपा र सरकारबीच कुनै असमझदारी नरहेको उहाँले प्रष्ट्याउनुभयो ।

यस्तै पार्टीको एकीकरण प्रक्रियाले मङ्सिर पहिलो साताबाट तीब्रता पाउने नेता पोखरेलले बताउनुभयो । आगामी मङ्सिर दोस्रो साताभित्र प्रदेश स्तरका र मङ्सिरभित्र जिल्ला तथा जनवर्गीय सङ्गठनको एकता टुङ्गिने उहाँले दावी गर्नुभयो । उहाँले सबै तहमा एकताको प्रक्रिया सहज र सौहार्दपूर्ण वातावरणमा टुङ्गिने भएकाले केही समय धैर्य गर्न पार्टीका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरुलाई आग्रह पनि गर्नुभयो ।

तत्कालिन संबिधानसभाका अध्यक्ष तथा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङ, प्रतिनिधिसभाका सदस्यद्वय योगेशकुमार भट्टराई र बिजय सुब्बाका साथ उपप्रधान तथा रक्षामन्त्री पोखरेल आइतबार पाँचथरको फिदिममा फाल्गुनन्द लिङ्देनको १३४ औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्न पूर्व आउनुभएको हो । फिदिममा आयोजना हुने कार्यक्रममा प्रधानमन्त्री केपी ओलीको उपस्थिति रहने जनाइए पनि स्वास्थ्यका कारण प्रधानमन्त्री ओलीको अनुपस्थितिमा रक्षामन्त्री पोखरेल आउनुभएको बताइएको छ ।

 


प्रतिक्रिया दिनुहोस्