फिजीमा विपक्षी नेताले चुनाव लड्न पाउने

सुभा, फिजी, २६ कात्तिक / फिजीको एक उच्च अदालतले मुलुकको मुख्य विपक्षी पार्टीका नेता सिटीभेनी राबुकामाथि लागेको भ्रष्टाचारको मुद्दा खारेज गरेको छ । अदालतको आदेशसँगै उहाँलाई आगामी संसदीय चुनाव लड्न पाउने बाटो खुलेको छ ।

सोडेल्पा पार्टीका अध्यक्ष राबुकाले आफूमाथि राजनीतिक प्रेरित भ्रष्टाचार मुद्दा लगाएर चुनावमा उठ्न नदिने षडयन्त्र भएको बताउँदै आउनुभएको थियो । पूर्व प्रधानमन्त्री समेत रहनुभएका राबुकामाथिको भ्रष्टाचारको मुद्दामा सुभास्थित उच्च अदालतले सफाई दिएको हो । उहाँ विरुद्ध फिजी स्वतन्त्र भ्रष्टाचार नियन्त्रण आयोगले मुद्दा चलाएको थियो ।

सोमबार फैसला सुनाउँदै मुख्य न्यायाधीश एन्थोनी गेट्सले राबुकामाथिका आरोपमा तथ्य र प्रमाणको अभाव रहेको बताउनुभयो । अदालत परिसर बाहिर भेला भएका सोडेल्पा समर्थकहरु खुशीले नाचगान गरेका थिए । त्यस अवसरमा अध्यक्ष राबुकाले आफ्ना समर्थकहरु सबैलाई धन्यवाद दिनुभयो । राबुकाको नेतृत्वमा सन् १९८० को दशकमा दुईपटक सत्ता विद्रोह भएको थियो भने सन् १९९२ देखि १९९९ सम्म फिजीको प्रधानमन्त्री हुनुभएको थियो ।

उहाँले सत्तारुढ फिजीफस्र्ट पार्टीलाई चुनौती दिइरहनुभएको छ । फिजीफस्र्ट पार्टीका नेता प्रधानमन्त्री फ्रान्क बैनीमारामाले सन् २००६ मा रक्तपातविहीन सत्ता विद्रोह गर्नुभएको थियो । सन् २०१४ को निर्वाचनमा विजयी हुनुअघि उहाँले स्वेच्छाचारी रुपमा सरकार सञ्चालन गर्नुभएको थियो । हालैका सर्वेक्षणमा बैनीमारामाले नै चुनाव जित्ने अनुमान गरेका छन् ।


प्रतिक्रिया दिनुहोस्