छठ पर्वको आज दोश्रो दिन, खरना मनाइँदै

चितवन, २६ कात्तिक / सूर्यको उपासना गरी मनाइने छठ पर्व अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदैछ ।जीवनपद्धति र विशिष्ठतालाई प्रतिविम्बित गर्ने छठ पर्वको खरनालाई पापको क्षय हुने दिन भनिन्छ ।

यस दिन गाईको गोबरले लिपपोत गरी अरबा चामलको पिठोबाट तयार पारिएको झोलले भूमि सुशोभित गरी ब्रत बस्नेले दिनभर उपवास बस्ने गर्दछन् ।साँझ चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्होमा र माटोकै नयाँ भाँडोमा सखर, दूध र चामलको खीर पकाइन्छ । सो खीर केराको पातमा राखेर छठी मातालाई चढाइन्छ र चढाइएको खीरलाई ब्रत बस्नेले ग्रहण गर्छन् । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म विभिन्न विधि गरेर मनाइने छठ पर्व हिजो ‘नहाय–खाय’ विधिसँगै सुरु भएको हो ।

केही वर्षअघिसम्म मिथिलाञ्चलमा मात्र मनाइने छठ पर्व पछिल्ला वर्षहरुमा भने काठमाडौं उपत्यकासहित पहाडि जिल्लामा पनि मनाउन थालिएको छ । पर्वको मुख्य दिन मानिने षष्ठी तिथिका दिन बिहानै नुवाई–धुवाई गरेर निराहार ब्रत बसेका ब्रतालुले बेलुका अस्ताउँदो सूर्यलाई कम्मरसम्म छोप्ने जलाशयको पानीमा उभिएर अर्घ्य दिने गरिन्छ ।

मिथिलामा यो विधिलाई ‘सझुका अरख’ भनिन्छ ।झिलीमिली पारेर सजाइएको पानीघाटमै रातभरि जाग्राम बसेर सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदा देखाइएका सामग्री देखाएर अर्को अर्घ्य दिएपछि यो पर्व सम्पन्न हुन्छ । उदाउँदो सूर्यलाई दिइने अर्घ्यलाई ‘भोरका अरख’ भनिन्छ ।


प्रतिक्रिया दिनुहोस्