खुकुरी प्रहार गरि चारजना गम्भीर घाइते बनाई, आफैमाथि खुकुरी प्रहार

प्रयास लिम्बू

ताप्लेजुङ, २७ कात्तिक  / ताप्लेजुङमा खुकुरी प्रहारबाट एकै परिवारका चारजना गम्भीर घाइते भएका छन् । जिल्लाको फुङ्लिङ नगरपालिका–३ ढाँडधारा बस्ने गणेश मगरका छोरा विवश, छोरी रेनुका र दुईजना नातिनीसहित चारजना गम्भीर घाइते भएका हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका निमित्त कार्यालय प्रमुख प्रहरी निरीक्षक लक्ष्मणबहादुर थापामगरका अनुसार ३० वर्षीय विवश मगरले २६ वर्षीया रेनुका भुजेल (मगर), आठ वर्षीया क्रिष्टिना र छ वर्षीया ओरिना भुजेललाई खुकुरी प्रहरी गरी घाइते बनाएका हुन् ।

घाइतेलाई हेलिकप्टर चढाइँदै । तस्बिर : प्रयास ।

आफ्नै बहिनी रेनुका र दुईजना नाबालिका भान्जीहरुलाई खुकुरी प्रहार गरेपछि विवशले आफैमाथि खुकुरी प्रहार गरेका प्रहरी निरीक्षक थापामगरले जानकारी दिनुभयो ।
जताभावी खुकुरी प्रहारबाट बहिनी र भान्जीहरुको टाउकोसहित शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको छ भने आन्द्रा बाहिर निस्कने गरी विवश आफैँले पेटमा सोही खुकुरीले घोपेका छन् । घाइते चारैजनाको जिल्ला अस्पतालमा उपचार सम्भव नभएकाले प्राथमिक उपचारपछि हेलिकप्टर झिकाएर थप उपचारको लागि काठमाडौं लगिएको छ ।

परिवार स्रोतका अनुसार पाख्रीबास नगरपालिका–८ धनकुटा घर भएकी रेनुका आफ्ना दुई छोरीहरु लिएर तिहारमा माइतीहरुलाई भाइटीका लगाइदिन माइतीघर फुङ्लिङ आउनुभएको थियो । तिहार पर्व मनाई सकेर घनकुटा घर फर्कने दिन मङ्गलबार बिहान ५:३० बजेको समयमा उक्त घटना घटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार बिहान ओछ्यानबाट उठ्ने बित्तिकै विवशले बहिनी र भान्जीहरुमाथि एक्कासी खुकुरी प्रहार गरेका थिए । घटनाको कारण भने नखुलेको र विवशमा केही मानसिक समस्या भएको बुझिएको प्रहरीले जानकारी दिएको छ ।

 


प्रतिक्रिया दिनुहोस्