महिलासम्बन्धी विवादमा तानिएपछि मन्त्री सोडारी बर्खास्त,पार्टी सदस्यबाट समेत निकालिए

काठमाडौ‌ कार्तिक २८ / सुदूर पश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारीले पदीय आचरणविपरीत काम गरेको ठहर्याउँदै मुख्यमन्त्रीले उनलाई बर्खास्त गरेका छन् भने नेकपाले पार्टी सदस्यबाट समेत निलम्बन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शपछि मुख्यमन्त्री त्रिलोचन भट्टले सोडारीलाई मंगलबार पदबाट हटाएका हुन्।

‘पदीय आचरणविपरीत कार्य गरेकाले पदमुक्त गरिएको हो,’ मुख्यमन्त्री भट्टले पत्रकारहरुसँग भने। आचरण विपरितको त्यस्तो के कार्य हो भन्ने उनले खुलाएनन्। श्रोतका अनुसार सोडारी महिलासम्बन्धी विवादमा तानिएपछि प्रधानमन्त्री ओलीले सोमबार मुख्यमन्त्री भट्टलाई आकस्मिक रुपमा राजधानी बोलाएर उनलाई जिम्मेबारीबाट हटाउन निर्देशन दिएका थिए।

‘निर्मला पन्तको बलात्कारपछि हत्याको घटना र केही दिनअघि हटाइएका प्रदेश ३ का मन्त्री केशव स्थापितको व्यक्तिगत आचरण विवादजस्ता विषयले पार्टी र राजनीतिक पदाधिकारीहरुको छवि धुमिल हुँदै जान थालेपछि फेरि त्यस्तै अर्को विवाद नचर्कियोस् भनेर प्रधानमन्त्रीले सोडारीलाई हटाइहाल्न निर्देशन दिएको हो,’ श्रोतले भन्यो।

भाइटिकाको दिन सोडारी चढ्ने जिप परिवारका सदस्यले चढेका बेला दुर्घटना भएको थियो। मन्त्री चढ्ने गाडीले ठक्कर दिँदा घाइते भएका व्यक्तिको उपचारमा समेत उनले ध्यान नदिएको आरोप समेत लागेको छ। आजको कान्तिपुर दैनिकमा अर्जुन शाहले यो खबर लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्