ताप्लेजुङमा अलैँची प्रवद्र्धनसम्बन्धी आचारसंहिता पारित

प्रयास लिम्बू
ताप्लेजुङ, कात्तिक २८ गते । ताप्लेजुङमा अलैँचीको मूल्य साङ्लोमा एकरुपता ल्याउन, प्रवद्र्धन गर्न तथा यसका पात्रहरुमा जिम्मेवारपूर्ण व्यावसायिक कला सृजना गर्न तयार पारिएको अलैँची आचारसंहिता प्रयोगमा ल्याउन बाटो खुलेको छ । बुधबार ताप्लेजुङका स्थानीय सरकार प्रमुखहरुसँगको छलफल र सहमतिपछि अलैँची व्यावसायी सङ्घले आचारसंहिता प्रयोगमा ल्याउन मार्ग प्रशस्त भएको जनाएको छ ।

अलैँची आचारसंहिता विषयमा आयोजित छलफलमा सहभागी जनप्रतिनिधि लगायत । तस्बिर ः प्रयास ।

जिल्ला अलैँची व्यावसायी सङ्घ ताप्लेजुङका अध्यक्ष बालमणि बरालले अलैँची क्षेत्रलाई सृजनशिल, व्यहारिक, व्यावसायिक गुणस्तरीय र श्रम बजार अनुकुल हुनेगरी अलैँचीका पात्रलाई नियमन गर्न बनाइएको आचारसंहिताको स्वीकृतिले अलैँचीको क्षेत्रमा नयाँ आयाम सृजना गरेको बताउनुभयो । अध्यक्ष बरालका अनुसार आचारसंहितालाई अब कार्यस्थलमा पूर्ण रुपले कार्यान्वयन गरिने छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले सञ्चालन गर्दै आइरहेको उन्नति कार्यक्रमअन्र्तगत अलैँची व्यवसायी सङ्घका कार्यक्रम संयोजक सन्तोष भट्टराईका अनुसार आचारसंहिताले श्रमिक, रोजगारदाता, उत्पादक, व्यावसायी र बजारसम्मका सबै पक्षको सन्तुलित सहभागिता सृजना गर्दै अलैँचीका पात्रहरुको व्यवसायिक सुरक्षालाई समेटेको छ ।

आचारसंहितामा अलैँची पात्र भन्नाले अलैँचीका मूल्य साङ्लोमा सामग्री आपूर्ति, उत्पादन, ढुवानी, संकलन, प्रशोधन, किनबेच लगायतका बिभिन्न कार्यमा संलग्न कृषक, फर्म, कम्पनी, सहकारी, संकलनकर्ता, प्रशोधक, थोक तथा खुद्रा बिक्रेता र निर्यातकर्ता समेतलाई तोकेको छ । “आचारसंहिता कुनै समूह वा संस्थाका सदस्यका लागि उनीहरुकाबीच आपसमा गरिने व्यवहार सम्बन्धीको सम्झौता रहेकोले अलैँचीको क्षेत्रमा यो विशिष्ट र महत्वपूर्ण हुने छ, यहाँका स्थानीय सरकारले आचारसंहिताको प्रयोग र कार्यान्वयनका पक्षमा अभिमत प्रकट गरेपछि यो अवस्था बनेको हो” कार्यक्रम संयोजक भट्टराईले भन्नुभयो । उहाँले अनौपचारिक क्षेत्र जस्तै व्यक्तिहरु संलग्न भएको व्यवसाय, काम वा सेवा वा कुनै निकाय वा प्रतिष्ठानमा दर्ता नगरी रोजगारदाताहरुले श्रमिकलाई काममा लगाएको क्षेत्रमा समेत यो आचारसंहिता आकर्षित हुने जानकारी दिनुभयो ।
यसअघि मस्यौदाको रुपमा तयार भएको अलैँची आचारसंहितालाई वर्ष दिनसम्मको लामो छलफल र अन्तक्र्रिया पछि बुधबारबाट प्रयोगमा ल्याउन सहमति जुटेको हो । संहिताको प्रस्तावनामा आचार संहिताको माध्यमबाट मूल्य साङ्लोमा संलग्न पात्रहरुलाई जिम्मेवारपूर्ण व्यावसायिक अभ्यास अवलम्बन गर्न प्रोत्साहित गर्ने तथा अलैँची क्षेत्रका श्रमिक, बजार सहजकर्ताको सञ्चालन, व्यवस्थापन र पद्धतिगत सुधारका गर्न सकिने उल्लेख छ । यसका साथै संहिताले मानव अधिकारको सम्मान, श्रम वातावरण निर्माण र सुशासन कायम गर्न सघाउने अपेक्षासहित प्रस्तावनामा उल्लेख गरिएको छ ।

आचारसंहिताका लागि अपनाइएको निर्देशक सिद्धान्त, उद्देश्य, कार्यान्वयनको दायरा, न्यूनतम् श्रम मापदण्ड, संगठित हुने स्वतन्त्रता तथा सामुहिक सौदावाजी, जबरजस्त तथा बाध्यात्मक श्रमको अन्त्य, रोजगार प्राथमिकता, बालश्रम र समान अवसर तथा व्यवहारलाई प्राथमिकता दिएको छ । समान कामको समान ज्याला, पारिश्रमिक, कार्य समय र अन्य कामका सर्तहरु, सामाजिक तथा कार्यस्थलमा हुने व्यवसायजन्य र स्वास्थ्य सुरक्षासँगै अलैँची पात्रहरुको मानव अधिकार सम्बन्धी दायत्विहरु समेत समेटिएको आचारसंहिता श्रमिकहरुका निम्ति उदार देखिएको छ ।

जिम्मेवारपूर्ण व्यावसायिक अभ्यासका निम्ति न्याय संगत तथा पारदर्शी व्यपार, व्यवसाय सञ्चालन गर्ने, न्यायोचित प्रतिफल र गुणस्तर सुनिश्चित गर्न आचारसंहिताले अलैँची पात्रहरुलाई एउटै मालामा गाँसेको छ । सरकारी नियमको परिपालना,संबादको माध्यमबाट सुधार लगायतका बिषयलाई प्रमुखताका साथ उठाएको आचारसंहितामा उपभोक्ता लक्षित व्यावसायिक नीतिलाई मुख्य प्राथमिकता दिइएको छ । आचारसंहिताले अब उत्पादक र क्रेता÷बिक्रेता दुबैलाई व्यवसायको अभिलेख राख्न, व्यावसायिक जानकारी अद्यावधिक गर्न र न्यायोचित प्रतिश्पर्धाको बाटो सधैं खुल्ला राख्न प्रोत्साहित गरेको छ ।

करको दायित्वलाई धर्मको रुपमा बुझेको आचारसंहिताले व्यावसायिक, श्रमिक तथा कर्मचारीको गोपनियता कायम राख्दै श्रमिकको प्रगति सूचक तयार पार्नेदेखि लिएर गुणस्तर मानव स्रोत व्यवस्थापनका लागि श्रमता वृद्धि र श्रमिकको गुनासोको उचित सम्बोधनलाई उच्च सम्मान गरेको छ । अलैँचीको कामबाट वातावरणमा कुनै गम्भीर असर नरपरोस् भन्ने कुरालाई ध्यान राख्दै आचारसंहिताले प्रशोधन प्रणाली व्यवस्थापन देखि रासयनिक तथा हानीकारक पदार्थको प्रयोग कम गर्ने उपायका लागि उत्पादकको दायित्व सृजना गरेको छ । अलैँची र यसका प्रयोग भएको सिँचाइ सहितलाई परिप्रयोगका लागि समेत आचारसंहिताले ठोस कार्यक्रमको सूची दिएको छ । बजार व्यवस्थापनका लागि तेस्रो पक्षसँगको व्यावसायिक साझेदारी समेतको मार्ग लिनुपर्ने अवस्था चित्रित गरेको आचारसंहितामा यसको कार्यान्वयनका लागि संस्थागत र सामान्य अख्तियारीको खाँचो औंल्याईएको छ ।
जिल्ला अलैँची व्यावसायी संघलाई आचारसंहिताको आन्तरिक व्यवस्थापनका लागि तीन बुँदे जिम्मेवारी समेत आचारसंहिताले निर्धारण गरिदिएको छ । बुधबार जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन, पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा, मेरिङ्देन गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बू, फक्ताङ्लुङ गाउँपालिका अध्यक्ष सरोज एभेङ, सिदिङ्वा गाउँपालिका अध्यक्ष नरबहादुर कडरिया, आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौला र फुङ्लिङ नगर उपप्रमुख बमबहादुर भट्टराई (तारा) सहितका स्थानीय तहका निर्वाचित पदाधिकारी र सरोकारवालाले अलैँची आचारसंहिताका बिषयको छलफलमा सहभागिता जनाउनुभएको थियो ।

 

 


प्रतिक्रिया दिनुहोस्