मधुमेह दिवसमा पदयात्रा र वक्तृत्वकला

ताप्लेजुङ समाचारदाता
ताप्लेजुङ, कात्तिक २८ गते । ताप्लेजुङमा मधुमेह नियन्त्रण गर्न विभिन्न उपाय अपनाउन आग्रह गर्दै विश्व मधुमेह दिवस मनाइएको छ । बुधबार जनता माध्यमिक विद्यालय फुङ्लिङ–९ हाङ्देवाको आयोजना तथा जिल्ला अस्पताल ताप्लेजुङ र हुमन प्राक्टिस फाउण्डेशनको प्रायोजनमा पदयात्रा साथै वक्तृत्वकला प्रतियोगिता गरी मधुमेह दिवस मानाइएको हो ।  सदरमुकाम फुङ्लिङबजारको तोक्मेदेखि जनता मावि हाङ्देवासम्म करिव तीन किलोमिटर दूरीको पदयात्रा पछि विद्यालयमा पुगेर वक्तृत्वकला र अन्य सचेतनासहित औपचारिक कार्यक्रम आयोजना गरिएको थियो । प्रदेश नं. १ का प्रदेशसभा सदस्य बलबहादुर साम्सोहाङ, जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन, फुङ्लिङ नगरपालिकाका उपप्रमुख बमबहादुर भट्टराई (तारा) लगायतका जनप्रतिनिधि, नागरिक समाज, विभिन्न सङ्घ संस्थाका प्रतिनिधि लगायतको पदयात्रामा सहभागिता रहेको थियो ।


कार्यक्रममा प्रदेशसभा सदस्य साम्सोहाङले मधुमेहको समस्या विश्वमै चुनौतीको रुपमा बढ्दै गएको बताउनुभयो । उहाँले अल्पविकसित मुलुकहरुमा मधुमेहका बिरामी निकै बढ्दै गएको तथ्याङ्कहरु पाइएकाले यसको नियन्त्रणको खाँचो रहेको औंल्याउनुभयो । मधुमेहबाट बच्न अर्थात स्वस्थ्य जीवनशैलीका लागि उचित खानपानमा ध्यान दिनुपर्ने साथै समय समयमा स्वास्थ्य जाँच गरी मधुमेहलाई नियन्त्रण गर्न आवश्यक रहेको उहाँको भनाइ छ ।

यस्तै मधुमेह नियन्त्रणका लागि खानपानमा ध्यान दिनु नै महत्वपूर्ण हुने अन्य वक्ताले बताएका थिए । सबैभन्दा पहिले सचेतता अपनाई मधुमेह हुन नदिने र भइसकेपछि भने खानपानमा ध्यान दिए यसलाई नियन्त्रण गर्न सकिने उहाँहरुको धारणा थियो । आफ्नो स्वास्थ्यका लागि कसैले पनि हेलचेक्र्याइँ गर्न नहुने उहाँहरुको भनाइ थियो ।
यता ‘नियमित आहार व्यवहारमा सुधार गरौं, मधुमेहबाट बचौं’ भन्ने शीर्षकमा वक्तृत्वकला प्रतियोगिता गरिएको जनता माविका प्रधानाध्यापक शरदराज निरौलाले जानकारी दिनुभयो । निरौलाका अनुसार अन्तर माध्यमिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा चारवटा विद्यालयले सहभागिता जनाएका थिए । सहभागीमध्ये युवा वर्ष माविकी छात्रा सन्ध्या पौडेल प्रथम, कालिका मावि नाङ्खोल्याङकी नम्रता बर्देवा द्वितीय, लिटलबुद्ध बोर्डिङकी नेलिया श्रेष्ठ तृतीय र जनता माविकी छात्रा सविना गुरुङ सान्तवना हुनुभएको छ । कार्यक्रमका अथितिबीच म्युजिकल चियर प्रतिस्पर्धा भएको पनि प्रअ निरौलाले जानकारी दिनुभयो । कार्यक्रम जनता मावि विद्यालय व्यवस्थापन समिति अध्यक्ष तेजप्रताप सुब्बको अध्यक्षतामा भएको थियो ।

 


प्रतिक्रिया दिनुहोस्