धरानमा दुई बालिका बलात्कृत : आरोपी ३ पक्राउ

सुनसरी / धरानमा एकैदिन दुई बालिका बलात्कृत भएका छन् । बलात्कार आरोपमा दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले धरान १६ का ३० वर्षीय विष्णु तामाङ र १७ का २७ वर्षीय सुवास राईलाई नियन्त्रणमा लिएको हो । इलाका प्रहरीका नायब उपरीक्षक सुमन तिम्सिनाका अनुसार तामाङले गत आइतबार बिहान ९ वर्षीया बालिकालाई बलात्कार गरेका थिए ।

तामाङ शारीरिक रूपले तन्दुरुस्त भए पनि बोल्न सक्दैनन् । बालिकामाथि जबर्जस्ती गरिरहेको गाउँलेले देखेपछि समातेर प्रहरीलाई बुझाइएको थियो । बालिकाको घरमा कोही नभएका बेला तामाङले बलात्कार गरेको प्रहरीले जनाएको छ । सुरुमा तामाङले इसारामार्फत आफूले बलात्कार नगरेको भने पनि बालिकाको शारीरिक अवस्था हेर्दा जबर्जस्ती भएको देखिन्छ ।

त्यसै दिन बेलुका सुवास राईले धरान १७ मा १२ वर्षीयालाई बलात्कार गरेको प्रहरीले जनाएको छ । चार कक्षामा पढ्ने बालिकालाई सुवासले ललाइफकाई घरभित्र लगेर जबर्जस्ती गरेको प्रहरीले जनाएको छ । बेलुकासम्म भान्जीलाई घरमा नदेखेपछि खोजतलास गर्दा स्थानीय दिनेश राईको घरको कोठामा रुँदै बसेको अवस्थामा भेटेर प्रहरीलाई खबर गरिएको थियो ।

मामालाई देख्नासाथ भान्जीले रुँदै आफूलाई सुवासले जबर्जस्ती गरेको बताएकी थिइन् । दुवै घटनाका आरोपीलाई प्रहरीले सोमबार सुनसरी जिल्ला अदालतमा पेस गरेको छ । यसैगरी ताप्लेजुङमा पनि तीन वर्षअघि जबर्जस्ती गरेको अभियोग लागेका पाथीभरा याङवरक १ नाङखोल्याङका मिङमा शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई ३ हजार १ सय मिटरको हिमाली बस्ती घुन्साबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

२०७२ साउन २६ गते राति फुङलिङ नगरपालिका १० फुरुम्बुको बाटोमा १२ वर्षीया बालिका बलात्कार गरेको उनीमाथि आरोप छ । कात्तिक २१ गते प्रहरीले पक्राउ गरी उनलाई जिल्ला अदलतमा बुझाएकामा पुर्पक्षका लागि कारागार चलान गरेको छ । कान्तिपुर दैनिकमा खबर छ ।


प्रतिक्रिया दिनुहोस्