किन गएनन् देउवा जिल्ला सभापतिको भेलामा

काठमाडौ‌ मंसिर १३ / कांग्रेस सभापति शेरबहादुर देउवा नुवाकोटको ककनीमा बुधबार सुरु जिल्ला सभापतिको भेलामा अनुपस्थित भएका छन् । देउवाबाटै भेलाको उद्घाटन गर्ने तयारी गरिए पनि अन्तिम समयमा उनी अनुपस्थित भएका हुन्।
देउवा नगएपछि जिल्ला सभापतिहरूले औपचारिक उद्घाटन नगरीकनै पार्टी विधानका विषयमा छलफल गरेका छन् । ‘जिल्ला सभापतिहरूको औपचारिक भेला भइसकेकाले यसलाई अनौपचारिक बनाउन हामीले चाहेका हौं,’ काभ्रे सभापति मधु आचार्यले भने, ‘सभापति, वरिष्ठ नेतालगायत शीर्ष नेता कसैलाई पनि आमन्त्रण नगरी छलफल गर्ने तयारी गरेका हौं । यो विशुद्ध अनौपचारिक छलफल हो।’

संस्थापन इतरपक्षीय जिल्ला सभापतिको सक्रियतामा भेला आयोजना भएकाले देउवा नगएको उनीनिकट एक नेताले बताए । जिल्ला सभापतिहरूमा संस्थापन इतरपक्षको बहुमत छ । केन्द्रीय कार्यसमितिमा प्रस्तुत विधान संशोधन मस्यौदाप्रति अधिकांश जिल्ला सभापतिले असन्तुष्टि जनाएका छन्।

सभापतिलाई मनोनयन अधिकार बढी दिने, केन्द्रीय कार्यसमितिको आकार बढाउने तर पदाधिकारी संख्या नबढाउने, केन्द्रीय सदस्यलाई स्वतः महाधिवेशन प्रतिनिधि हुने प्रावधानलगायत विषयमा जिल्ला सभापति असन्तुष्ट छन्। भेलामा करिब ५० जिल्लाका सभापतिको उपस्थिति छ।

नुवाकोट कांग्रेस सभापति जगदीशनरसिंह केसीले विधानका अधिकांश विषयमा साझा धारणा बनाएर केन्द्रीय कार्यसमितिमा सुझाव पठाइने बताए ।

महासमिति बैठक मंसिर २८ देखि पुस ३ सम्म राजधानीमा हुँदै छ । बुधबार बोल्ने अधिकांश जिल्ला सभापतिले पार्टीका तल्ला संरचनालाई बलियो र अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिएका छन् । उनीहरूले केन्द्रीय सभापतिलाई २५ प्रतिशत सदस्य मनोनयन गर्ने प्रस्तावित विधानको प्रवाधानप्रति असन्तुष्टि जनाएका छन्। आजको कान्तिपुर दैनिकले यो समाचार छापेको छ।


प्रतिक्रिया दिनुहोस्