नगरपालिकामा दमकल छैन, मेयरलाई ७२ लाखको गाडी,उपमेयरको लागि ३२ लाखको ‘टाटा सुमो

काठमाडौ‌ मंसिर १३ / मंसिर ४ गते मोरङ उर्लाबारीको मुख्य बजारमा आगलागी भयो। आगोले जलेर इटहरा रोडमा रहेको भक्तिराम अधिकारीको किराना पसल खरानी भयो। अगलागीबाट झन्डै ३ करोडको क्षति भयो। दिउँसो २ बजेतिर लागेको आगो दुई घन्टापछि मात्रै निभाइएको थियो। आगो निभाउन अन्यत्रबाट ल्याइएका सातवटा दमकल प्रयोग गरिएका थिए। उर्लाबारी नगरपालिकामा दमकल नभएकै कारण त्यति ठूलो क्षति भएको स्थानीयको ठहर छ।

उर्लाबारीकी सरिता केसीले दमकल नभएर ठूलो क्षति भएको र अब सबैले नगरपालिकासँग दमकलका लागि दबाब दिनुपर्ने बताइन्। ‘नगरपालिकामा नागरिकले कर तिर्छन् तर आगो लागेकै कारण व्यस्त बजारमा यति ठूलो क्षति बेहोर्नुपर्छ,’ उनले भनिन्, ‘यसमा नगरपालिका जिम्मेवार रूपमा प्रस्तुत हुनुपर्छ।’

उर्लाबारीका मेयर खड्ग फागो दमकल खरिदका लागि प्रक्रिया अघि बढाइसकिएको भन्दै पन्छिने गरेका छन्। तर उनले त्यसो भन्न थालेको एक वर्ष बितिसक्दा पनि दमकल खरिद गरिएको छैन।

उर्लाबारीमा आगो लागेको पाँच दिनपछि गत आइतबार झापाको शिवसताक्षीमा आगो लागेर एकै घरका चार जनाले ज्यान गुमाउनुपर्यो। तर शिवसताक्षी नगरपालिकामा टाटा सुमो हुँदाहुँदै मेयर चन्द्रकुमार शेर्माले ७२ लाखको जापानी ‘टोयटा हायस’ चढ्ने गरेका छन्।

उपमेयरका लागि ३२ लाखको ‘टाटा सुमो’को व्यवस्था गरिएको छ।

शिवसताक्षी नगरमा १५ वर्षमा यस्तै प्रकृतिका तीनवटा घटना भए। २०६१ सालमा नगरकै चन्द्रडाँगीमा संग्राम खड्काको घरमा आगो लाग्दा पाँच जनाको मृत्यु भएको थियो। २०६९ सालमा दुधेमा मनिका खरेल भट्टराईको घरमा आगो लाग्दा दुई छोरीसहित उनको जलेर मृत्यु भयो।

दमकल नभएको कन्काई नगरपालिकामा पनि दमकल किन्ने कुनै सुर देखिँदैन। मेयर राजेन्द्र पोखरेलले दमकल सञ्चालनका लागि धेरै खर्च हुने भएकाले त्यतापट्टि ध्यानै नदिएको स्पष्ट पारे। ‘हामी नयाँ प्रविधिको विकास गरी खानेपानीकै पाइपबाट अग्नि नियन्त्रणका लागि काम अघि बढाउने सोचमा छौं,’ उनले भने, ‘त्यसकारण तत्काल दमकल खरिद नगर्ने सोच बनाएका हौं।’

झापाको दमक, भद्रपुर मेचीनगर, गौरादह, बिर्तामोड नगरसँग मात्रै दमकल छ। कतिपय गाउँपालिकामा त एम्बुलेन्ससमेत छैन। उपसभापति काफ्लेले एम्बुलेन्स व्यवस्थापन स्थानीय तहले गर्न सक्ने भए पनि त्यतातिर जनप्रतिनिधिले कुनै चासो नदिएको उल्लेख गरे। यो खबर आजको नागरिक दैनिकमा झापाबाट युवराज विवशले लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्