जनताको जीवन सुरक्षित गर्ने जग निर्माण भयो : श्रममन्त्री विष्ट

सुर्खेत,  मङ्सिर / श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू भएसँगै जनताको जीवन सुरक्षित गर्ने जग निर्माण भएको बताउनुभएको छ । कर्णली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा नवस्थापित श्रम तथा रोजगार कार्यालयद्वारा आज आयोजित ‘श्रमसम्बन्धी नीतिगत तथा कानूनी व्यवस्था’ विषयक अन्तरक्रियामा श्रममन्त्री विष्ट समग्र नेपाली जनताको भविष्य सुनिश्चितताका लागि नीतिगत तथा कानूनी जग निर्माण गरेको बताउनुभयो ।

“सरकारले जनताको दीर्घकालीन जीवन सुरक्षाका लागि दर्जन तलाको जग बसाएको छ जुन जमीनमुनि छ,” श्रममन्त्री विष्टले भन्नुभयो, “सतहबाट हेर्नेहरुले सरकारले काम नगरेको देखे ।” उहाँले अगाडि भन्नुभयो, “संविधानको सबैभन्दा महत्वपूर्ण पाटो भनेकै आर्थिक, सामाजिक, सांस्कृतिक समस्यासँग जोडिएको मौलिक अधिकार हो । खाद्य, आवास, रोजगारी, शिक्षा, स्वास्थ्य लगायतका अधिकारलाई सुनिश्चित गर्ने युगको शुभारम्भ भएको छ ।”

“ज्यादा गरीबी, अभाव बेरोजगारीका रुपमा चिनिएको कर्णाली प्रदेशबाटै सरकारले अनुभूति हुनेगरी काम थालनी गर्छ,” उहाँले थप्नुभयो, “प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत लाखौँ युवालाई रोजगारीको अवसर प्रदान गर्छौं र सरकारले निर्वाह भत्ता दिएर भए पनि नागरिकलाई सामाजिक न्याय दिने कार्यक्रम ल्याउँछ ।”

कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले जनमानसमा भएको भ्रम चिरेर सरकारले के गरेको छ भन्ने सयौँ प्रश्नको जवाफ मङ्सिर ११ गते नयाँ युगको शुभारम्भसँगै दिएको तर्क गर्नुभयो । “सरकारको यो सामाजिक सुरक्षा योजना योगदानमा आधारित छ,” योजनामन्त्री ज्वालाले भन्नुभयो, “रोजगारका नाममा बेरोजगारी हुने चुनौतीसँग भने अब सरकार बलियो तरिकाले जुध्नुपर्छ ।”

सामाजिक विकासमन्त्री दल रावलले कर्णाली प्रदेश सरकारले पनि यहाँका जनतालाई सामाजिक न्याय दिने खाकासहितको योजना तयार गरेको बताउनुभयो । “हामीले चालू आवमा छ हजार कर्णालीका युवालाई सीप दिने लक्ष्य तय गरेका छौँ,” मन्त्री रावलले भन्नुभयो, “यसलाई प्राथमिकता साथ अघि बढाएर जनतालाई अनुभूति हुनेगरी काम गर्छौैं ।” कर्णाली प्रदेशका प्रमुख सचिव रामप्रसाद थपलियाले सरकारले ल्याएको सामाजिक सुरक्षाको योजनालाई प्रभावकारी कार्यान्वयन सबै लाग्न अपिल गर्नुभयो ।

श्रममन्त्री विष्टले आजै नवस्थापित श्रम तथा रोजगार कार्यालय सुर्खेतको उद्घाटन गर्नुभएको छ । उक्त कार्यक्रममा कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बिमला केसी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा, प्रदेश सदस्य अमरबहादुर थापा, कृष्णा शाह, पद्मा खड्का, राजु नेपालीसहित विभिन्न क्षेत्रका व्यक्तित्वको सहभागिता रहेको थियो । (रासस)
–––


प्रतिक्रिया दिनुहोस्