जोर बिजोर प्रणालीले सास्ती भोग्दै सर्वसाधारण

स्कुल, कलेज, कार्यालय जान हिँडेकाहरू घन्टौँ गाडी कुर्न बाध्य

सरकारले उपत्यकामा चल्ने सवारीसाधनमा बिहीबारबाट लागू गरेको जोर–बिजोर प्रणालीका कारण यात्रुले निकै सास्ती खेप्नुपरेको छ ।

अन्य दिनभन्दा आधा मात्रै सार्वजनिक यातायातका साधन सञ्चालन हुँदा समयमै कार्यालय पुग्नुपर्ने कर्मचारी, अस्पताल जान हिँडेका बिरामी, कलेजबाट फर्केका विद्यार्थी, मन्दिर हिँडेका तीर्थयात्रीलगायत अन्य सर्वसाधारण कष्टकर यात्रा गर्न बाध्य भए ।

यात्रुहरू बस प्रतीक्षालयमा घन्टौँ कुर्न बाध्य

यात्रुहरू बस प्रतीक्षालयमा घन्टौँ कुर्न बाध्य भएका थिए । धेरैजसो झुन्डिएर यात्रा गर्न बाध्य भए भने हिँडेरै कार्यालय पुग्नेको सडकमा लाइन देखिन्थ्यो ।

तारकेश्वर नगरपालिका– ५ बस्ने सुवास थापा झन्डै तीन घन्टाभन्दा बढी हिँडेर ललितपुर जावलाखेलस्थित कार्यालय पुगे । कार्यालय पुग्दा ११ बजिसकेकाले हाकिमको गालीसमेत खानुपरेको उनले बताए । महाराजगन्जका ७२ वर्षीय राजेन्द्रप्रसाद उपाध्याय ललितपुरस्थित बंगलामुखी मन्दिर जान एक घन्टा बस कुरे । अन्य दिनजस्तो सजिलै बस नपाउने र पाइहाले पनि अत्यधिक भिडले गर्दा चढ्न नसकेर ट्याक्सीमा मन्दिर जानुपरेको उनले बताए ।

‘बिहान ट्याक्सीमा गइयो । अहिले एक घन्टा कुरेर यहाँसम्म आए,’ जमलमा गाडी कुर्दै गरेका शर्माले भने, ‘यहाँ कुरेको पनि आधा घन्टा भयो, पाउने हो कि होइन ।’ जोर–बिजोर प्रणालीका कारण आफ्नै गाडी भएर पनि महँगो भाडा तिरेर ट्याक्सी चढ्नुपरेको उनले बताए ।

एनएसी, जमल, भृकुटीमण्डपलगायतमा यात्रुको भीड

नुवाकोट विदुर नगरपालिका– ७ चनौटेका ठाकुर अधिकारीले गाडी नपाउँदा सास्ती खेप्नुपरेको बताए । ‘आज गाडी पाइएन, लैनचौरदेखि गणेशस्थानसम्म हिँडेरै पुगेँ,’ उनले भने, ‘के गर्नु, सरकार नै
यस्तै छ ।’

ललितपुर बालकुमारीस्थित क्याथफोर्ड इन्जिनियरिङ कलेजमा अध्यनरत काठमाडौं मनमैजुका किरण श्रेष्ठ ३ बजेसम्म जमलमै गाडी कुर्दै थिए । ‘एनएसीअगाडि धेरैबेर कुरेँ र हिँड्दै जमलसम्म आएँ, यहाँपनि आधा घन्टाभन्दा बढी भइसक्यो, गाडी पाइएन,’ उनले भने, ‘अरू दिन भए घर पुगेर खाजा खाएर पनि आराम गरिसकेको हुन्थेँ ।’

तारकेश्वर नगरपालिका लोलाङ हाइटस्थित डेरामा बस्दै आएका गोरखाका भरत अर्याल गाडी पाइन्छ कि भनेर जमलमा एक घन्टा कुरे । काभ्रेपलान्चोकमा खानेपानीको काम गर्ने उनी परिवार भेट्न बिहानै हिँडेका थिए, तर थुप्रै ठाउँमा गाडी कुर्नुपर्दा बेलुका मात्र कोठामा पुग्न सके ।

जनतालाई सास्ती दिने निर्णय नगर्न सरकारसँग माग
शुक्रबारबाट काठमाडौंमा सुरु हुने एसिया प्यासेफिक समिटमा नेपाल आउने विदेशी पाहुनाको आवतजावतलाई सहज गर्न सरकारले बिहीबारदेखि नै जोर–बिजोर प्रणाली लागू गरेको हो । यो नियम आइतबारसम्म जारी रहने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । उपभोक्ता हित संरक्षण मञ्चले बिहीबार विज्ञप्ति जारी गर्दै जोर–बिजोर प्रणाली तत्काल हटाउन माग गरेको छ । जोर–बिजोर प्रणाली जनतामाथि गरिएको अपराध भन्दै मञ्चले स्वस्फूर्त अवज्ञा गर्न सर्वसाधारणलाई आग्रह पनि गरेको छ । मञ्चले भविष्यमा जनतालाई सास्ती दिने कुनै पनि निर्णय नगर्न सरकारसँग माग गरेको छ । आजको नयाँ पत्रिकामा यो खबर छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्