जोर–बिजोरको अवज्ञा गर्न युवा नेता गगन थापाको आह्वान

सही कामको लागि सरकारले आव्हान गर्दा जोर(विजोर मात्रै होइन गाडी नै नचलाउन र भोकै बस्न हामी तयार हुनुपर्छ ।तर धर्मान्तरको लागि स्थापना भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक छ।सरकारको गलत कामको अवज्ञागर्नु नागरिकको कर्तव्य हो,अवज्ञा गरौं।

कांग्रेस नेता गगन थापाले जोर–बिजोर प्रणालीको अवज्ञा गर्न सर्वसाधारणलाई आह्वान गरेका छन् । ‘सही कामका लागि सरकारले आह्वान गर्दा जोर–बिजोर मात्र होइन, गाडी नै नचलाउन र भोकै बस्न हामी तयार हुनुपर्छ । तर, धर्मान्तरका लागि स्थापित भएको विवादित संस्थाको कार्यक्रमका लागि जनतालाई सास्ती दिने सरकारको निर्णय खेदजनक छ । सरकारको गलत कामको अवज्ञा गर्नु नागरिकको कर्तव्य हो, अवज्ञा गरौँ,’ थापाले बिहीबार ट्विटरमा लेखेका छन् ।

जनताले स्वस्फूर्त अवज्ञा गर्नुपर्छ
ज्योति बानियाँ,
अध्यक्ष, उपभोक्ता हित संरक्षण मञ्च

सरकारले जोर–बिजोर नम्बर लागू गरेर जनताको अधिकारमाथि ठाडो प्रहार गरेको छ । एउटा आइएनजिओले गरेको कार्यक्रमलाई सघाउन आमसर्वसाधारणलाई यस किसिमको सास्ती दिनु हुँदैनथ्यो । नेपालमा तीन सयभन्दा बढी आइएनजिओ सञ्चालनमा छन् । हरेकले वर्षमा एक दिन कुनै देशको राष्ट्रप्रमुख वा नेता बोलायो भने फेरि यस्तै गर्ने कि नगर्ने रु

धर्मनिरपेक्ष मुलुकमा यस किसिमको कार्यक्रम आयोजना हुँदा सरकारले जनतालाई सास्ती दिनहुन्थ्यो कि हुन्नथ्यो भन्ने प्रश्न पनि छ । यो राष्ट्रिय कार्यक्रम पनि होइन । जनतालाई सास्ती दिएर सरकारले नागरिक अधिकार कुण्ठित गरेको छ । यो जनतामाथि गरेको अपराध हो । यस्तो निर्णय तत्काल हटाउनुपर्छ । जनताले स्वस्फूर्त अवज्ञा गर्नुपर्छ ।

विरोध प्रदर्शन गर्ने पाँच पक्राउ
एसिया प्यासिफिक समिटको विरोधमा बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गर्ने पाँचजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रघु कार्की, राजु सुनार, मञ्जु पुडासैनी, लक्ष्मी दाहाल र मनिका खतिवडा रहेको प्रहरीले जनाएको छ । पक्राउ परेका कार्की नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य हुन् । एसिया प्यासिफिक समिटमा भाग लिन विदेशी पाहुनाको आगमन भइरहेका वेला माइतीघरमा प्रदर्शनमा उत्रिएका पाँचजनालाई नियन्त्रणमा लिइएको काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्तकुमार लामाले जानकारी दिए ।

सरकारले समिट अवधिभर काठमाडौं उपत्यकाभित्र सबैखाले विरोधका कार्यक्रम गर्न रोक लगाएको छ । सम्मेलनमा सहभागी हुन सात देशका सरकार तथा राष्ट्रप्रमुखसहित पाँच सय विशिष्ट पाहुना काठमाडौं आउने भएकाले विरोधका कार्यक्रम गर्न रोक लगाइएको हो । पक्राउ परेकाहरूले प्रदर्शनका क्रममा उपत्यकाका यातायातमा लागू गरिएको जोर–बिजोर प्रणालीको पनि विरोध गरेका थिए । उनीहरू ‘नेपालकी छोरी निर्मलालाई न्याय देऊ अनि त्यसपछि चढाउँला जिससकी छोरीलाई फूलमाला’ भन्ने प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका थिए ।

 आजको नयाँ पत्रिकामा यो खबर छापिएको छ ।


प्रतिक्रिया दिनुहोस्