ला लिगामा आज बार्सिलोनाले र भिल्लारियलको सामना गर्दै

काठमाडौं  /  ला लिगा फुटबलमा लिग लिडर बार्सिलोनाले  भिल्लारियललाई आफ्नो घर क्याम्प नोउमा निम्त्याउँदैछ । गत सिजन २६ खेल नहारी जितेको बार्सिलोनाले यसपटक १३ खेल सकिँदा २ खेल हारिसकेको छ । अहिले १३ खेलपछि उसको खातामा २५ अंक मात्रै छ ।

आज आफ्नो घर क्याम्प नोउमा हुने खेलमा ३ अंक जोड्ने दाउमा रहेको बार्सिलोनाको टोलीमा केही प्रमुख खेलाडी हुनेछैनन् । यसअघि भएको एथ्लेटिको मड्रिडविरुद्धको खेल दौरान ५ जना खेलाडी घाइते भएका थिए ।  जसमा राफिन्हा र सामुएल उम्टिटी लामो समयका लागि मैदानबाहिर रहनेछन् भने अर्थुर, लुइस स्वारेज र सर्जी रोवेर्टो तीन सातामा मात्रै फर्किनेछन् ।

यदि आजको खेलमा स्पष्ट जित निकाल्न नसके र अन्य टोलीले आफ्नो खेल जिते बार्सिलोना अंक तालिकामा झन् तल झर्ने सम्भावना छ ।  आजको खेलमा बार्सिलोना आफ्ना कप्तान लिओनल मेस्सीका साथमा अर्टुरो भिडाल, फिलिपे कोउटिन्हो, इभान राकिटिकजस्ता प्रभावशाली खेलाडी लिएर आफ्नो घरमा उत्रिनेछ ।

आज बार्सिलोनाको घरमा उत्रिन लागेको भिल्लारियल हाल लिगको १८औं स्थानमा छ । रेलिगेसन क्षेत्रबाट माथि चढ्न खोजिरहेको उसका लागि आजको खेलको अंक पनि उत्तिकै महत्त्वपूर्ण हुनेछ । नेपाली समयअनुसार राति ११ः१५ बजेबाट खेल हुँदैछ ।


प्रतिक्रिया दिनुहोस्