कुमारी बैंकले लाभांश शेयर दिने

काठमाडौँ, १७ मङ्सिर / बैंक तथा वित्तीय संस्थाले नगद लाभांश मात्रै दिइरहेको समयमा कुमारी बैंकले शेयर लाभांश दिने भएको छ । बैंकले नेपाल स्टक एक्सचेञ्जलाई उपलब्ध गराएको विवरणअनुसार आर्थिक वर्ष २०७३र७४ को नाफाबाट १२ दशमलव ७५ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७४र७५ मा गरेको नाफाबाट वितरण गर्ने लाभांश भने घोषणा गरेको छैन ।

बैंकको चुक्ता पूँजी रु सात अर्ब १६ करोड ३० लाख ५५ हजार ४७३ रहेको छ । बैंकले प्रस्ताव गरेको १२ दशमलव ७५ प्रतिशत शेयर लाभांशबाट रु ९१ करोड २२ लाख ८९ हजार ५७३ पूँजी थप हुनेछ । लाभांश शेयर वितरणपछि बैंकको चुक्ता पूँजी रु आठ अर्ब सात करोड ६३ लाख ४५ हजार पुग्नेछ ।

यस्तै स्टकले सोधपुछका लागि भन्दै नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेड र नेपाल ल्यूब आयल लिमिटेडको शेयर कारोवारमा रोक लगाएको छ । समयमै उपयुक्त सूचना नदिएका कारण उनीहरूको कारोवार रोक लगाइएको स्टकले जनाएको छ । स्टकमा आज एनएमबी सुलभ इन्भेस्टमेन्ट फण्ड–१ को शेयर मूल्य समायोजन भएको छ । सो योजनाले २१ दशमलव ०५ नगद लाभांश दिएसँगै प्रतिएकाइ १० रुपैयाँ ३९ पैसा हुने गरी मूल्य समायोजन गरिएको हो । रासस


प्रतिक्रिया दिनुहोस्