अमेरिकी मेक्सिकन विदेशमन्त्री भेटवार्ता, सीमा क्षेत्रमा जारी आप्रवासी समस्या समाधानबारे छलफल

वासिङटन, १७ मङ्सिर / मेक्सिकोका नयाँ विदेशमन्त्री म्यार्सेलो इब्रार्ड र अमेरिकी बिदेश मन्त्री माइक पोम्पेओबीच आइतबार भेटवार्ता भएको छ । यी दुई देशको सीमा क्षेत्रमा आप्रवासीहरुको कारण तनाव जारी रहेका बेला दुई देशका उच्च कूटनीतिज्ञबीच भेटवार्ता भएको बताइएको छ । मेक्सिकन विदेशमन्त्री मार्सेलोले यस भेटलाई सौहार्द भनी टिप्पणी गर्नुभएको छ ।

मेक्सिकोमा नयाँ राष्ट्रपति आन्ड्रे्स म्यानुएल लोपेज ओब्राडोरले आफ्नो कार्यकाल शुरु गरेको एक दिनपछि दुई देशबीचका विदेशमन्त्रीबीच यो भेटवार्ता भएको समाचार आएको छ । लामो समयको पर्खाइपछि अमेरिका र मेक्सिकोबीच यसप्रकार मित्रतापूर्वक भेटवार्ता भएको मेक्सिकन विदेशमन्त्री मार्सेलोले गर्नु भएको टवीट्मा भनिएको छ । दुई देशकाबीचमा लामो समयपछि शुरु भएको विवादपछि यो पहिलो पटक सौहार्द रुपमा द्धिपक्षीय वार्ता भएको उहाँले आफ्नो ट्वीटर अकाउन्टपछि जानकारी दिनुभएको छ ।

सो ट्वीटमा उहाँले भन्नुभएको छ– हाम्रो देशको नयाँ राष्ट्रपतीय प्रशासनका बारेमा अमेरिकाको धारणा र सकारात्मक कुराकानीका साथै हाम्राबीचमा भएको सौहार्द वार्ताका लागि म अमेरिकी विदेशमन्त्री पोम्पेओलाई धन्यवाद दिन चाहन्छु । लोपेज गएको करिब पाँच महिना अघि नै मेक्सिकोको नयाँ राष्ट्रपतिका रुपमा निर्वाचित हुनुभएको थियो । तर उहाँले गत शनिबारमात्र सपथ लिनुभएको हो । उहाँ मेक्सिकोको एकजना वामपन्थी नेताका रुपमा परिचित हुनुहुन्छ ।
हजारौँ जना मध्यअमेरिकी देशका नागरिक यी दुई देश (अमेरिका र मेक्सिको) को सीमा क्षेत्रमा शिविर निर्माण गरेर बसेका छन् । उनीहरु अमेरिका छिर्न चाहन्छन् । आफ्नो देशमा बस्न असुरक्षा, हत्या हिंसा र गरिबीका कारण उनीहरु अमेरिका छिर्न चाहेका छन् ।

तर अमेरिकाले उनीहरुलाई आफ्नो देश छिर्न नदिने बताएको छ । ट्रम्प प्रशासनले लामो समयदेखि उनीहरुलाई सोही सीमा क्षेत्रमा नै रोकेर राखेको छ । यसका लागि ठूलो संख्यामा अमेरिकाले सेना पनि सीमा क्षेत्रमा पठाएको छ ।
तर मेक्सिकोले भने उनीहरुलाई अमेरिका जान दिनुपर्ने बताएको छ । यसै कारणले यी दुई देशबीच लामो समयदेखि विवाद जारी छ । सो विवादपछि पहिलो पटक अमेरिका र मेक्सिकोका विदेशमन्त्रीबीच पहिलो पटक यो भेटवार्ता भएको हो ।

त्यसैले यस भेटवार्तालाई अर्थपूर्ण रुपमा लिइएको समाचारमा उल्लेख गरिएको छ । सो वार्तामा उक्त समस्याको समाधान कसरी गर्ने भन्ने बारेमा कुराकानी भएको अनुमान गरिएको छ । यी दुई देशले सीमा क्षेत्रको सो आप्रवासी समस्या सामुहिक रुपमा कसरी समाधान गर्ने भन्ने बारेमा छलफल गरिने बताउँदै आएका थिए ।


प्रतिक्रिया दिनुहोस्