२०१८ को ब्यालोन डि अोर मोड्रिचले जिते

पेरिस /  सन् २०१८ को ब्यालोन डी’ ओर अवार्ड क्रोएसियाका कप्तान एवं स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीचले जितेका छन् ।

पेरिसमा भएको कार्यक्रममा दावेदारको रुपमा हेरिएका मोड्रिचले करिअरमा पहिलोपटक यो उपाधि हात पारेका हुन् । पछिल्लो दश वर्ष क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसीले यस उपाधिमा अधिपत्य जमाउँदै आएका थिए । दुवै खेलाडीले समान ५-५ पटक आफ्नो नाम उपाधि गरे । यसपटक भने मोड्रिचले दुवै खेलाडीको चुनौती पन्छाउँदै उपाधि हात पारेका हुन् । विश्वकप विजेता फ्रान्सका खेलाडीहरु पनि उपाधिको दावेदारका रुपमा रहेका थिए ।

युभेन्टसका क्रिस्टियानो रोनाल्डो दोस्रो स्थानमा रहँदा एट्लेटिको म्याड्रिड फरवार्ड एन्टोइन ग्रिजमन तेस्रो स्थानमा रहे । पेरिस सेन्ट जर्मनका युवा स्टार किलियन एमबाप्पेले चौथो स्थान हासिल गरे । उत्कृष्ट युवा खेलाडीलाई प्रदान गरिएको कोपा ट्रफी भने एमबाप्पेले हात पारे ।

बार्सिलोना कप्तान लिअोनेल मेसी पाँचौ स्थानमा रहँदा मोहमद सलाहले छैटौं स्थान प्राप्त गरे । सातौंमा राफेल भाराने र अाठौंमा इडेन हाजार्ड रहे । केभिन डि ब्रुएन नवौं र ह्यारी केनले दशौं स्थान हासिल गरे । नेयमार शीर्ष दशमा पनि नपर्दा १२ अौं स्थानमा रहे ।

रोनाल्डोले रियल म्याड्रिडबाट खेल्दै च्याम्पियन्स लिग उपाधि जिते भने मेसीले पनि बार्सिलोनाको सफलतामा साथ दिए । तर रुसमा सम्पन्न विश्वकपमा दुवै खेलाडीले फितलो प्रदर्शन गरे र नतिजा पोर्चुगल र अर्जेन्टिना कप्तानको भूमिकामा रहेका यी दुई खेलाडी ब्यालोन डी’ओर को प्रतिस्पर्धामा पछाडी परे । विश्वकपको प्रदर्शन उपाधिको छिनोफानो गर्न निकै महत्त्वपूर्ण कडी सावित हुँदै आएको छ ।

फ्रान्सेली टोलीबाट पेरिस सेन्ट जर्मेनका युवा फरवार्ड किलियन एमबाप्पे, एटलेटिको म्याड्रिडका एन्टोइन ग्रिज्मन, रियलका राफेल भारानसँगै प्रिमियर लिगमा खेल्दै आएका ह्युगो लोरिस, पल पोग्बा र एनगोलो कान्टे रहेका छन् । पछिल्लोपटक उपाधि जित्ने फ्रान्सेली खेलाडीमा जिनेदिन जिदान रहेका छन् । उनले सन् १९९८ मा फ्रान्सलाई घरेलु मैदानमा विश्वकप उपाधि दिलाएपछि सो उपाधि हात पारेका थिए ।


यसका बाबजुद मोड्रीच ले नै उपाधिमाथि कब्डीजा जमाएका छन् । मोड्रीचले विश्वकपमा क्रोएसियाला फाइनलसम्म पुर्याउन प्रभावशाली प्रदर्शन गरेका थिए । फ्रान्ससँग फाइनलमा पराजित भएपनि उनी प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भएका थिए ।

३३ वर्षीय मोड्रीचले गत वर्ष क्लब फुटबलमा पनि प्रचुर सफलता हात पारे । रियललाई लगातार तेस्रो च्याम्पियन्स लिग उपाधि दिलाउने क्रममा मोड्रीचको प्रदर्शन निकै महत्त्वपूर्ण रहेको थियो । पछिल्लो दुई वर्ष च्याम्पियन्स लिग विजेताको हकमा रोनाल्डोले ब्यालोन डी’ओर उपाधि हत्याएका थिए । यसपटका मोड्रीचले सो सफलता हात पार्दा उनको विश्वकपको प्रदर्शनले पनि बलियो साथ दियो ।  एजेन्सी

 


प्रतिक्रिया दिनुहोस्