साढे चार महिनामा ३६ अभियुक्त पक्राउ

प्रयास लिम्बू

ताप्लेजुङ, १९ मङ्सिर  / ताप्लेजुङमा पछिल्लो साढे चार महिनाको अवधिमा ३६ जना फरार अभियुक्त पक्राउ परेका छन् । जिल्ला अदालत ताप्लेजुङबाट कर्तव्य ज्यानसहित विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेकाहरु पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार गत साउन महिनायता हालसम्ममा ३६ जना फरार प्रतिवादी पक्राउ परेका हुन् । जिल्ला अदालतबाट दोषी ठहर भई फरार भएका केही व्यक्तिहरु १०/१२ वर्षपछि पक्राउ परेका छन् । फरार अभियुक्तहरु पक्राउ परेसँगै उनीहरुले भुक्तान गर्ने ६१ वर्ष पाँच महिना १६ दिन कैद सजाय पनि असुल भएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।

प्रनाउ थापाका अनुसार पक्राउ परेकाहरुबाट ३० लाख ८२ हजार २३१ रुपियाँ जरिवाना रकम पनि असुल भएको छ । पक्राउ परेका मध्ये सबैभन्दा बढी वन र कुटपिट मुद्दाका पाँच/पाँच जना रहेका छन् । त्यस्तै कर्तव्य ज्यानका तीन जना, गाली बेइज्जती मुद्दाका तीन जना, सवारी ज्यानका दुई जना फरार अभियुक्त पक्राउ परेका छन् । अन्य जबरजस्ती करणी, बहु विवाह, डाका, चोरी, बैदेशिक रोजगार ठगी लगायत विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेकाहरु पक्राउ परेका प्रनाउ थापाले जानकारी दिनुभयो ।

उहाँका अनुसार पक्राउ परेकाहरु केही जरिवाना रकम बुझाएर छुट पाएका छन् भने कैद सजाय तोकिएकाहरु कारागार चलान भएका छन् । फरार अभियुक्तलाई पक्राउ गर्ने प्रहरीको अभियानसँगै अधिकांश अभियुक्त गाउँघरमै लुकिछिपी बसेको अवस्थामा पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला अदालतको लगत अनुसार अझै फरारको सङ्ख्या ठूलो रहेकाले उनीहरुको पनि खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

यता फरार अभियुक्त पक्राउ पर्ने क्रमसँगै जिल्ला कारागारमा कैदी तथा थुनुवाको सङ्ख्या ह्वात्तै बढेको छ । निमित्त कारागार प्रमुख ध्वनिराम सिंहका अनुसार ५० जनाको क्षमता रहेको कारागारमा हाल ९४ जना कैदी र १५ थुनुवा गरी एक सय नौ जना रहेका छन् । पुरानो मुद्दाका दोषीहरु धमाधम पक्राउ पर्दै गएसँगै कारागार भरिँदै गएको निमित्त कारागार प्रमुख सिंहको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस्