प्रदेशको नाम र राजधानी सहमतिबाटै टुङ्ग्याइने : मुख्यमन्त्री राई

प्रयास लिम्बू
ताप्लेजुङ, मङ्सिर २१ गते । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम र राजधानी सहमतिबाटै टुङ्ग्याइने बताउनुभएको छ । प्रदेशको नाम र राजधानी पहिले नै टुङ्गो लगाउने प्रदेशसभाले पहल गरेको भए पनि सम्भव नभएको र अब चाँडै सहमतिबाटै टुङ्ग्याउने मुख्यमन्त्री राईले बताउनुभयो ।  शुक्रबार ताप्लेजुङको उत्तरी ओलाङ्चुङगोला सीमा–नाकाको निरीक्षणमा आउनुभएका मुख्यमन्त्री राईले सदरमुकाम फुङ्लिङमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै आगामी पुसको दोस्रो साता प्रदेशसभाको बैठक बोलाएर नाम र राजधानीका विषयमा छलफल गरिने बताउनुभयो । पहिले सम्भव नभएपछि बीचमा दसैँ तिहारजस्ता चाडपर्वका कारण प्रदेशसभाको बैठक बस्न नसकेकोले समय लम्बिँदै गएको र अब बस्ने बैठकले सकेसम्म सहमतिमै नाम र राजधानीको विषय टुङ्ग्याउने उहाँले बताउनुभयो ।

ताप्लेजुङको फुङ्लिङमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्नुहुँदै प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई । तस्बिर ः प्रयास ।

प्रदेशको नाम र राजधानीको विषयमा कुनै प्रस्ताव बनिनसकेको बताउनुहुँदै मुख्यमन्त्री राईले प्रदेशसभाको बैठकबाटै अर्थात हिउँदे अधिवेशनले सर्वसहमतिमा टुङ्गो लगाउने दावी गर्नुभयो । उहाँले प्रदेशको नाम र राजधानीका विषय टुङ्ग्याउनलाई कुनै ठूलो समस्या नरहेको पनि बताउनुभयो । पुसको दोस्रो साता प्रदेश सरकारले प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउने तयारी स्वरुप आवश्यक परामर्श सुरु गरेको उहाँले जानकारी दिनुभयो । प्रदेशको नाम र स्थानीय राजधानीका विषय सथौ धेरै कानुनहरु बनाउनुपर्ने भएकाले पनि अधिवेशन आह्वान गर्नमा बिलम्ब नहुने राईको भनाइ छ । कानुन निर्माणमा ढिलाइ भएका कारण अहिले योजना कार्यान्वयनमा समस्या हुँदै आएको र अब विशेष महत्वका प्रदेशसभाको बैठक सम्बन्धित विषयमा केन्द्रित हुने उहाँले बताउनुभयो ।

हाल कानुन बनिनसकेको अवस्था र कर्मचारी अभावले प्रदेश सरकारले गर्ने अधिकांश योजनाहरु कार्यान्वयनमा ढिलाई भइरहेको र बैठकबाट कानुन निर्माणलाई पूर्णता दिई कर्मचारी व्यवस्थापन लगायतका सबै कार्य गरेर प्रदेश सरकार विकास निर्माणमा अघि बढ्ने पनि उहाँले बताउनुभयो । प्रदेश सरकारले ल्याएको धेरै योजना तथा कार्यक्रम कानुन र कर्मचारी अभावका कारण अहिले सोचेअनुसार कार्यान्वयन हुन नसकेको बताउँदै उहाँले सरकार कुनैपनि हालतमा अब बिलम्ब गर्ने पक्षमा नरहेको बताउनुभयो ।

यस्तै ओलाङ्चुङगोला नाका चीनको स्वशासित क्षेत्र तिब्बतसँगको सीमा भएकाले यसलाई व्यवस्थित गर्नका लागि सङ्घीय सरकारसँग समन्वय गरेर प्रदेश सरकारले कार्य गर्ने राईले बताउनुभयो । ओलाङ्चुङगोला निक्कै महत्वपूर्ण नाका भएकाले व्यवस्थित गर्नका निम्ति गोलामा सीमा सुरक्षा बल राख्नुपर्ने आवश्यक देखिएको र यसका लागि तत्काल पहल सुरु गरिने उहाँले बताउनुभयो ।
सीमा सुरक्षा राख्नका लागि सम्भावना र चुनौतिका विषयमा स्थलगत अध्ययन गर्ने उद्देश्यले नै मुख्यमन्त्री राईसहितको टोली ओलाङ्चुङगोला निरीक्षणमा आएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिनुभयो । निरीक्षण टोलीमा १ नं. प्रदेश सरकारका आन्तरिक मामिला तथा गृहमन्त्री हिक्मत कार्की, प्रतिनिधिसभाका सदस्य योगेश भट्टराई, प्रदेशसभा नेकपाका संसदीय दलका उपनेता टङ्क आङ्बुहाङ, प्रदेश नं. १ का सुरक्षा निकायका प्रमुखहरु लगायत रहनुभएको थियो ।

 


प्रतिक्रिया दिनुहोस्