प्रजिअ समक्ष छ बुँदे ध्यानाकर्षणपत्र

अरुण पोस्ट समाचारदाता

ताप्लेजुङ, २४ मङ्सिर / ताप्लेजुङस्थित अनेरास्ववियु क्रान्तिकारी र वाईसीएल नेपालले जनतालाई प्रत्याभूत हुनेगरी नयाँ गणतन्त्रिक संविधानको पूर्ण कार्यान्वयन गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीलाई छ बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् । संघीयता कार्यान्वयनसँगै मुस्कानसहितको सेवा प्रदान गर्नुपर्ने ठाउँमा निरङ्कुश शैली हावी भएको साथै भ्रष्टाचार, कामचोर तथा माफिया मौलाएको भन्दै विद्यार्थी र युवाहरुको संगठनले प्रजिअ भण्डारीलाई आइतबार ध्यानाकर्षणपत्र बुझाएका हुन् ।

अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष किरण लिङ्देन र वाईसीएल नेपालका जिल्ला अध्यक्ष सुजन लिम्बूद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र समानुपातिक समावेशी प्रतिनिधित्वसहित नयाँ संविधानको मर्म विपरित विभिन्न क्रियाकलाप भइरहेकाले त्यस्ता क्रियाकलापलाई नियन्त्रण गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराइएको छ । ध्यानाकर्षणपत्रमा सदरमुकाम फुङ्लिङबाट विभिन्न स्थानमा छुट्ने यातायातका साधनमा व्यवसायीले मनोमानी भाडा असुल्दै आएकाले यसलाई नियन्त्रण गरी वैज्ञानिक भाडादर कायम गर्न माग गरिएको छ ।

यस्तै माध्यमिक तहसम्मको शिक्षा पूर्ण निःशुल्क र सुलभ शिक्षा हुनुपर्ने संवैधानिक व्यवस्था विपरित विभिन्न शीर्षक तथा उप–शीर्षकमा विद्यालयहरुले शुल्क लिँदै आएको हुँदा तत्काल नियन्त्रण गर्नमा माग गरिएको छ भने सरकारी कार्यालयहरुमा सेवाग्राहीलाई असल शासनको अनुभूति दिलाउन मुस्कानसहितको सेवालाई व्यवहारमा कार्यान्वयन गर्न ध्यानाकर्षण गरिएको छ । गणतान्त्रिक संविधान र संघीयताको कार्यान्वयनमा सेवाग्राहीले सरल तथा सहज अनुभूत गराउने खालको कार्यशैली साथै प्रणालीका लागि मातहतका कर्मचारीलाई अभिमुखीकरण गराउन र भ्रष्ट, कामचोर तथा माफिया शिक्षकमाथि छानविन गरी कानुनी कारबाही गर्न पनि प्रजिअ समक्ष ध्यानाकर्षण गराइएको छ । विद्यार्थी र वाईसीएलका जिल्ला नेतृत्वसहितको टोलीले प्रजिअलाई ध्यानाकर्षणपत्र बुझाएको अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष किरण लिङ्देनले जानकारी दिनुभयो ।

 


प्रतिक्रिया दिनुहोस्