मेसीलाई इटालीमा खेल्न आउन रोनाल्डोको आग्राह

मंसिर २४ /  रियल म्याड्रिडका पूर्व फरवार्ड / युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले बार्सिलोनाका कप्तान लिओनेल मेसीलाई स्पेन छाडेर इटालीमा आउन आग्राह गरेका छन् ।


इटालीको प्रतिष्ठित ला गजेटा डेलो स्पोर्ट ले लिएको अन्तर्वार्तामा रोनाल्डोलाई मेसीसँगको प्रतिस्पर्धा कतिको मिस भएको छ भन्ने प्रश्न गरिएको थियो । उक्त प्रश्नमा उनले मेसीसँगको प्रतिस्पर्धा केहि हदसम्म मिस भएको बताए । तर उनले मेसीलाई पनि नयाँ चुनौती लिने समय भएको बताए ।

‘मैले मेसीलाई केहि मिस पक्कै गरेको छु । मैले पोर्चुगलमा आफ्नो करिअर सुरु गर्दै इंग्ल्यान्ड र स्पेन हुँदै अहिले इटालीमा आएको छु । उनले आफ्नो पूरा करिअर स्पेनमा नै खेलेका छन् । मलाई लाग्छ उनले अब स्पेन छाडेर अन्यत्र लिगमा पनि खेल्नुपर्छ,’ रोनाल्डोले भने ।

 

‘मेरो लागि जिन्दगि भनेको चुनौती हो । नयाँ चुनौतीको सामना गर्न मलाई मनपर्छ र म यसमा खुसी पनि छु । म उनी इटाली आएर खेलेको हेर्न चाहन्छु । मैलेजस्तै उनले पनि नयाँ चुनौतीको सामना गर्नुपर्छ । तर उनी त्यहाँ स्पेनमा नै खुसी छन् भने म त्यसको सम्मान गर्छु,’ उनले थपे ।

‘मेसी निकै राम्रा खेलाडी हुन् र उत्तिकै सालिन व्यक्ति पनि । मैले उनलाई यहाँ खासै मिस गरेको छैन । मेरो नयाँ चुनौतीको सामना गर्नुपर्दा म खुसी छु,’ उनले टुंग्याए । एजेन्सी


प्रतिक्रिया दिनुहोस्