जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, २५ मङ्सिर / ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं. ५ पापुङका जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । ढोक्प्या विद्यार्थी समाज काठमाडौं र ताप्लेजुङको स्थानीय रेडियो तमोरले संयुक्त रुपमा सोमबार एक कार्यक्रमको आयोजना गरी जाडोमा लगाउने न्यानो कपडा वितरण गरेको हो ।

                 

हाल काठमाडौंमा रहेर अध्ययनरत पापुङबासी ढोक्प्या (शेर्पा) विद्यार्थीहरुको संस्था ढोक्प्या विद्यार्थी समाज काठमाडौंले गएको तिहारमा देउसीभैला खेली सङ्कलन गरेको रकम र रेडियो तमोरको समेत ३ लाख ४० हजार रुपियाँ बराबरको न्यानो कपडा वितरण गरिएको समाजले जनाएको छ । मिक्वाखोला–५ पापुङ भित्रका हाल सामाजिक सुरक्षा भत्ता पाउँदै आएका ७५ वर्ष भन्दा माथिका ६० जना जेष्ठ नागरिकलाई न्यायो कपडा वितरण गरिएको सो वडाका वडाध्यक्ष डण्डु लामाले बताउनु भयो ।

वडाध्यक्ष लामाका अनुसार तत्कालिन संविधानसभाका सदस्य तथा नेकपाका केन्द्रीय सदस्य पासाङ शेर्पा, रेडियो तमोर सञ्चालन समिति अध्यक्ष रमेश बराल लगायतले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्नु भएको थियो । प्रतिव्यक्ति चार हजार रुपियाँ मुल्य बराबरको न्यानो ज्याकेट, टाउजर, टोपी, स्विटर लगायतका कपडा वितरण गरिएको पनि वडाध्यक्ष लामाले जानकारी दिनु भयो । पापुङ जिल्लाको हिमाली क्षेत्रको बस्तीमा पर्दछ ।


प्रतिक्रिया दिनुहोस्