सांसद योगेश भट्टराईद्धारा घर भाडा भत्ता नलिने घोषणा , लिएको ९० हजार पनि फिर्ता

काठमाडौं, १ पुस । प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले संसदबाट घरभाडास्वरुप आफूले पाउने ९० हजार रुपैयाँ फिर्ता गर्नुहुने भएको छ । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सांसद भट्टरार्इले संसद सचिवालयले काठमाडौंमा घर भएका र नभएका संसद सदस्यहरुको विवरण फारम भराउँदा आफूले काठमाडौंमा आफ्नो घर भएको कुरा पहिले नै स्पष्ट रुपमा उल्लेख गरेको र सचिवालयले मागेको विवरण उपलब्ध गराउँदा गराउँदै पनि घरभाडा लिनेको सूचीमा आफ्नो नाम प्रकाशित हुँदा आफैं आश्चर्यमा परेको बताउनुभएको छ।

‘संसद सचिवालयले काठमाडौंमा घर भएका र नभएका संसद सदस्यहरुको विवरण फारम भराउँदा मैले काठमाडौंमा आफ्नो घर भएको कुरा पहिले नै स्पष्ट रुपमा उल्लेख गरेको छु’, उनले स्पष्ट पारेका छन्, ‘सचिवालयले मागेको विवरण उपलब्ध गराउँदा गराउँदै पनि घर भाडा लिनेको सूचीमा मेरो नाम प्रकाशित हुँदा म आफैं आश्चर्यमा परेको छु ।’

‘संसदीय क्षेत्रमा अनुभवको कमी तथा संसद सचिवालयका तर्फबाट अभिलेखको व्यवस्थापनमा भएको असावधानीका कारण कमजोरी हुन गएकोमा म दुःख व्यक्त गर्दछु’, उनले जारी गरेको वक्तव्यमा भनिएको छ ।

उनले भनेका छन्, ‘घरभाडा वापत मेरो नाममा जम्मा भएको ९० हजार रुपैंयाँ फिर्ता गर्न वा आउने महिनामा प्राप्त हुने पारिश्रमिकमा कट्टा गर्न संसद सचिवालयलाई हार्दिक अनुरोध गर्दछु ।’


प्रतिक्रिया दिनुहोस्