शिशुलाई हेरचाह केन्द्रमा राखेर आमा आयआर्जनमा

तेह्रथुम, ४ पुस / जिल्लाको म्याङलुङ नगरपालिका–८, आम्बुङकी ३२ वर्षे सुनीता सम्बाहाम्फेका दुई छोरा र एक छोरी गरी तीन सन्तान छन् । बाह्र वर्षे छोरा कक्षा ५ र नौ वर्षे छोरी कक्षा ३ मा पढ्छन् । सानो छोरा अहिले तीन वर्षको पुग्दैछ । ठूला दुई नानी हुर्काउन सुनितालाई निकै हम्मे–हम्मे प¥यो । घरको काम र मेलापातमा कति दिन त नानीलाई पिठ्युँमा बोकेर काम गर्न जानुपथ्र्यो । उनीहरूलाई विद्यालय जाने बानी बसाउन झन मुस्किल परेको थियो । तर अहिले सानो छोराको बारेमा त्यति धेरै चिन्ता छैन । घर नजिकै खुलेको शिशु हेरचाह केन्द्रमा सुनीताले सानो छोरा एड्मिनलाई राख्न थालेको दुई वर्ष बढी भइसकेको छ । स्थानीय महिला सम्मिलित शुम्भोलुङ महिला समूहले खोलेको केन्द्रमा बिहान १० बजेदखि साँझ ५ बजेसम्म छ महीनादेखि विद्यालय उमेर पूर्वका बालबालिकाको हेरचाह गर्ने व्यवस्था मिलाइएको छ । अहिले एड्मिन आफैँ केन्द्रमा जान थालेका छन् । हेरचाह केन्द्रमा गएर बस्ने, खेल्ने र आफूजस्तै अरु साथीसँग रमाउने उनलाई बानी परिसकेको छ । घरमा दुई–चार जना मान्छे आउँदा पनि एड्मिन बोल्न डराउँदैनन् । आमाको काख बिनै पनि उनलाई घुलमिल गर्ने, खेल्ने, रमाउने, खाने बानी परिसकेको छ । अब एड्मिनलाई विद्यालय पठाउन पनि उनका दिदीदाजुलाई जस्तो गाह्रो नहुने सुनीता बताउनुहुन्छ ।

त्यसो त हेरचाह केन्द्रले एड्मिनलाई राम्रो मात्रै होइन, परिवारलाई नै सजिलोसमेत बनाएको छ । एड्मिनको स्याहारसुसार गर्ने समय सुनीता र परिवारका अन्य सदस्यले अर्थोपार्जनका क्रियाकलापमा खर्चिएका छन् । एउटा बच्चाको हेरचाह गर्ने जिम्मा स्वभावैले आमाकै हुन्छ । त्यसकारण पनि आमाले नानीलाई हुर्काउन थाल्दा आफ्नो जीवनको महत्वपूर्ण समयनै व्यतीत गरिसकेकी हुन्छिन् । आमाले आफ्नो नानीलाई ध्यान दिँदा आफ्नो व्यक्तित्व विकास भुल्छिन् । आम्दानी देखिने काम गर्न पाउँदिनन् तर सुनीताले पछिल्ला दुई वर्ष यस्ता धेरै कष्ट बेहोर्नु परेन । बरु बच्चाको वृद्धि विकास र आफ्नो व्यक्तित्व विकास सँगसँगै अघि बढ्यो ।

नानीलाई हेरचाह केन्द्रमा राखेर सुनिताले आफ्ना लागि चाहिने रुपैयाँ आफैँ जुटाउन सक्ने हुनुभयो । घरको काम, मेलाको काम र परिवारलाई दिने समय पनि व्यवस्थित बनेको छ । “नानी बोकी–बोकी पनि काम नगरी खान पाइन्नँ, केही नगरे पनि घरको काम त नानी पिठ्युँमा बोकेर पनि सबै आफैँले गर्नैपर्छ”, उहाँ भन्नुहुन्छ, “हेरचाह केन्द्र खुलेपछि नानी त्यता राख्यो, यता आफू ढुक्कले काम ग¥यो ।” नानी छाडेर काम गर्दा नानीले फोहोर ग¥यो कि रु नराम्रो खायो कि रु भनेर पनि पीर गर्नु नपर्ने सुनीताको अनुभव छ । नानीलाई हेरचाह केन्द्रमा राखेर सुनीताले घरको भान्साको काम मात्रै हैन, करेसाबारीमा तरकारी खेती, फलफूल खेती, अदुवा खेतीलगायत आयआर्जनका काम गर्नुभएको छ ।

उहाँले नानी हेर्ने समयलाई अर्थोपार्जनको काममा खर्चिएपछि श्रीमान् र सासू ससुरा पनि खुशी हुनुहुन्छ । हेरचाह केन्द्रले आफ्नो परिवारमा खुशी भित्रिएको उहाँका श्रीमान् जयप्रकाशले बताउनुभयो । “उनको धेरै समय नानीसँगै बित्थ्यो, अहिले उनले कमाएकैले घर खर्च चल्छ, उनले नै घर सम्हालेकी छिन्, मैले कमाएको दुई–चार रुपैयाँ बचत हुन्छ” श्रीमतीतिर फर्किएर जयप्रकाशले भन्नुभयो । सुनिताले यो वर्ष पनि अदुवा खेतीबाट मात्रै रु २० हजार आम्दानी गर्नुभएको छ । तरकारी, फलफूल र कुखुराको आम्दानी छुट्टै छ । सुनीताको जस्तै आर्थिक सबलता बढेको छ, सोही गाउँकी कोमलमाया लिम्बूको पनि । केही वर्ष अघिसम्म के खाउँ, के लाउँ रु भन्ने अवस्थाको कोमलमायाको परिवारमा धेरै परिवर्तन आएको छ । कोमलमायाले पनि आफ्नो सानो नानीलाई हेरचाह केन्द्रमा राखेर बचेको समयलाई आयआर्जनमा लगाउनुभएको छ ।

उहाँले पनि श्रीमान् ईश्वरको सहयोगमा अदुवाको व्यावसायिक खेती गर्नुभएको छ । अहिले खुर्सानी, लसुन, आलु उखु, केरा, माछा र अलैँची खेतीबाट पनि आम्दानी हुन थालेको छ । काम गर्ने श्रीमान् र श्रीमती दुई जना मात्रै भए पनि उहाँले वार्षिक घर खर्च कटाएर खेती किसानीबाटै लाखौँ रुपैयाँ बचत गर्न थाल्नुभएको छ । “बच्चालाई हेरचाह केन्द्रमा राखेर काम गर्न नपाएको भए यति धेरै आम्दानी हुन्थेन, एक्लैले कति पनि काम गर्न सकिन्न”, कोमलमाया भन्नुहुन्छ । हेरचाह केन्द्र खुलेपछि पहिलेजस्तो मेलापात जाँदा पनि नानी भोकायो होला रु दिसा पिसाब ग¥यो होला रु कतै लड्यो कि रु भन्ने जस्ता धेरै पीर खेप्नु नपरेको उहाँले बताउनुभयो ।

“हेरचाह केन्द्रले नै हाम्रो परिवारको सबै कुरा भएको छ”, श्रीमान् ईश्वरले भन्नुभयो, “सानो नानी हुँदा काम गर्ने एक्लै पर्थे, खेती पनि यति धेरै थिएन, तर जबदेखि हेरचाह केन्द्र खुल्यो, अनि त नानी हेरचाह केन्द्रमा, हामी मेलामा ।” श्रीमान्का कुरामा थप्दै कोमलमायाले भन्नुभयो, “आम्मै १ बच्चा हेर्दै यति धेरै काम मैले पनि कसरी गर्थेँ र रु यो सब देन हेरचाह केन्द्रकै हो ।” कोमलमायाले खनेर बेच्ने बेला भएको अदुवाबाट भाउ राम्रो भएको भए ४० हजार बढी आम्दानी हुने थियो । यो गाउँमा उहाँ जस्तै दर्जनौँ दम्पती छन्, जसले हेरचाह केन्द्र खुलेपछि घरको काममा सजिलो भएको बताउँछन् । गाउँमा रहेको समूहले एक्सन एड नेपालको सहयोगमा सञ्चालित स्थानीय अधिकार कार्यक्रमअन्तर्गत देउराली सोसाइटीको सहजीकरणमा शिशु हेरचाह केन्द्र सञ्चालन गरेको छ । केन्द्रमा गाउँका १० जनासम्म बच्चा ल्याउने गरिएको छ । समूहले नै बच्चाको रेखदेखका लागि हेरालु राखेको छ । एक जना हेरालुबाटै केन्द्रमा आउने ८–१० जना बच्चाको रेखदेख, खुवाइपिलाइ र सरसफाइ हुन्छ । समूहको आफ्नै भवन छ । बच्चालाई आवश्यक कपडा, खेलौना, खाना बनाउने सामग्री आदि व्यवस्थापन गरिएको छ । केन्द्र खुलेपछि गाउँका महिलाको व्यक्तित्व विकास र आयआर्जन दुवैतर्फ सहयोग पुगेको समूहकी अध्यक्ष योगिता लिम्बूले बताउनुभयो । ०६९ सालमा गठन भएको समूहमा गाउँका ३५ महिला सदस्य छन् । समूहले ०७१ सालबाट सामुदायिक शिशु हेरचाह केन्द्र सञ्चालनमा ल्याएको हो ।

केन्द्र सञ्चालनका लागि समूहले स्थापना गरेको अक्षयकोषमा अहिले रु तीन लाख बढी जम्मा भएको छ । समूहमा आबद्धले प्रतिसदस्य मासिक रु १०० का दरले सो कोषमा जम्मा गरिरहेका छन् । स्थानीयवासी प्रेमबहादुर सम्बाहाम्फेले निःशुल्क पाँच आना जग्गा दिएपछि समूहका महिला आफैँले रु तीन लाख लागतमा एक तले भवन बनाएका छन् । अध्यक्ष लिम्बूका अनुसार लिम्बू समुदायको बाहुल्य रहेको गाउँका महिलाले बच्चालाई केन्द्रमा राखेर आयआर्जनका गतिविधि गरेका छन् । कतिपयले बाख्रा, बङ्गुर र पशुपालन गरेका छन् भने कतिपयले अदुवा, अकबरे र तरकारी खेती गरेका छन् । त्यसबाट आएको रकमले उनीहरूको व्यक्तिगत र पारिवारिक जीवनलाई सहज बनाएको अध्यक्ष लिम्बूले बताउनुभयो । रासस
–प्रकाश धौलाकोटी


प्रतिक्रिया दिनुहोस्