स्वर्ण पदक जितेका पहिलो नेपाली महेश्वर भोलि नेपाल आइपुग्ने

काठमाडौं / थाइल्याण्डको चाङमईमा सम्पन्न १० औँ विश्व शारीरिक सुगठन तथा फिजिक स्पोर्ट्स च्याम्पियनशिपमा पुरुष ७५ केजीमा स्वर्ण जितेका महेश्वर भोलि मंगलबार नेपाल फर्कन लागेका हुन् ।

महेश्वर विश्वस्तरमा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बनेका छन् । गत वर्ष नेपालकी ननिता महर्जनले महिला एथ्लेटिक्स फिजिक्स १६० मा रजत पदक जितेकी थिइन् । महेश्वर मंगलबार अपरान्ह १ः४५ बजे नेपाल आईपुग्ने नेपाल शारीरिक सुगठन तथा फिट्नेस संघले जनाएको छ ।

यस्तै महेश्वरले अन्तर्राष्ट्रियस्तरमा नेपाललाई स्वर्ण पदक दिलाएको यो दोस्रो पटक हो । महेश्वरले २०१६ मा भूटानमा भएको ५० औँ एशियन बडी बिल्डिङ एण्ड फिजिक स्पोर्टमा पनि ७५ केजी तौल समूहमा स्वर्ण जितेका थिए ।

यस्तै उनी नेपाली बडी बिल्डिङको सबैभन्दा प्रतिष्ठित र चर्चित धर्मश्रीको १३औँ संस्करणमा च्याम्पियन र १४औँ तथा १५औँ संस्करणमा दोस्रो भएका थिए ।


प्रतिक्रिया दिनुहोस्