लोप हँुदै पञ्चेबाजा

भोजपुर, १० पुस / बजारमा आधुनिक बाजाको आगमनसँगै पराम्परागतरूपमा बजाइने मौलिक लोक संस्कार र संस्कृत बोकेको पञ्चेबाजा बजाउने चलन हट्दै गएको छ । विवाह तथा विभिन्न समारोहमा बजाइने पञ्चेबाजा पछिल्लो समयमा आएर लोप हुन थालेको छ ।


जिल्लामा विगतमा सयौँको सङ्ख्यामा रहेका यसका वाद्यवादक अहिले सीमित मात्रामा रहेका छन् । त्यो पनि वृद्धवृद्धा मात्र । नेपालीको मौलिकता झल्काउने पञ्चेबाचा बजाउने सीप सिक्न युवा पिँढीले नचाहँदा बाजा नै लोप हुने अवस्थामा पुगेको टेम्केमैयुङगाउँपालिका–३ अन्नपूर्णका स्थानीयवासी नीरबहादुर परियारको भनाइ छ ।

परियार भन्नुहुन्छ, ‘‘मैले विगत ६० वर्षदेखि पञ्चेबाजा बजाउँदै आएको छु तर पछिल्लो समय विभिन्न खाले आधुनिक शैलीको बाजाका कारण हाम्रो पुख्र्यौली बाजा बजाउने पेशा हराउँदै गएको छ ।’’ अहिले युवायुवतीले बाजा बजाउन नचाहने गरेकाले बाजा नै सङ्कटमा परेको उहाँको भनाइ छ । ‘‘पहिला त धेरै थियांँ, अहिले यो गाउँमा हामी चार÷पाँचजना बूढापाका मात्र छौँ ।’’

पञ्चेबाजामा नरसिङ्गा, दमाहा, सनही लगायतका बाजाको प्रयोग हुने गरेको छ । अहिले गाउँघरमा यस्ता बाजा नै पाउन कठिन छ । विगतमा विभिन्न बाजाको निर्माण स्थानीयस्तरमा हुने गरेको भए पनि यतिबेला त्यस्ता खालका बाजा बनाउने सीप भएका मानिस नभएपछि बाजा लोप हँुदै गएको स्थानीयवासीको भनाइ छ ।

स्थानीय सरकारसँगै राज्यले नै पञ्चेबाजाको संरक्षण गर्नुपर्ने बलबहादुर परियारको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘बाजा बनाउने मान्छे पनि छैनन्, बाजा पाउन गाह्रो छ, स्थानीय सरकारले कुनै नीति तयार गरेर संरक्षण गरे अर्को पुस्तामा लैजान सकिन्थ्यो होला ।’’

विशेष गरेर यो बाजा सीमित जाति समूहले मात्र बजाउने गरेकाले यसको संरक्षणको लागि सबै पक्षले पहल गरेर अन्य समुदायमा पनि बाजा बजाउने सीप हस्तान्तरण गर्नुपर्ने स्थानीय समाजसेवी बद्रीप्रसाद अधिकारीले बताउनुभयो । ‘‘संरक्षणका लागि यस क्षेत्रमा लागेका व्यक्ति तथा समुदायलाई प्रोत्साहन गर्र्दै अन्य जातिका मानिसले पनि सिक्न आवश्यक देख्छु’’, उहाँले भन्नुभयो । रासस




प्रतिक्रिया दिनुहोस्