मेहेलेका पूर्व प्रधानपञ्च तथा कांग्रेस सभापति भण्डारीको निधन

ताप्लेजुङ || मेहेले गाविसका पूर्व प्रधानपञ्च एवम् नेपाली कांग्रेस सिदिङ्वा गाउँ पालिका वडा नम्बर ६ का वडा सभापति पर्शु भण्डारीको शनिवार राति १२ बजेर ४५ मिनेटमा निधन भएको छ ।सामाजिक क्षेत्रमा क्रियाशील भण्डारी शुक्रवार वडा नम्बर ६ को स्वास्थ्य चौकीको बैठकमा गएका थिए । दिनभर व्यस्त भएका कारण घर समेत फर्कन नसकेपछि सोही ठाउँमा रहेको ससुराली घरमा सुतेका बेला उनको अचानक निधन भएको मेहेलेबाट दिपक कडरियाले जानकारी दिए । दिउँसो टाउको दुखेको बताएका उनलाई सामान्य औषधी गराइएको थियो । तर, राती अचानक उनको निधन भयो । स्वास्थ्य चौकीको व्यस्तता र पानी समेत परेकाले उनी घर फर्कन सकेका थिएनन् ।

२०३३ सालमा पञ्चायत कालको गाउँ फर्क अभियानको सचिव बनेका भण्डारी २०३८ सालमा मेहेले गाउँ पञ्चायतको निर्वाचित प्रधानपञ्च हुन् २ पटक सम्म प्रधानपञ्च बनेका भण्डारी सामाजिक क्षेत्रमा क्रियाशील व्यक्तिका रुपमा परिचित थिए । विभिन्न सामाजिक संघ संस्थामा नेतृत्व गरेका भण्डारी नेपाली कांग्रेस ताप्लेजुङ जिल्लाको २ पटक जिल्ला सदस्य, तत्कालिन मेहेले गाविसको पार्टी सभापति, हाल सिदिङवा गाउँ पालिका वडा नम्बर ६ को पार्टी सभापतिमा रहेर जिम्मेवारी निर्वाह गरिरहेका थिए । यसैगरी भण्डारी निलगिर उमाविको ३ पटक विद्यालय व्यवस्थापन समितिको अध्यक्ष, सुन्तले लघु जलविद्युत परियोजना मेहेलेको सदस्यलगायतका दर्जनौ संघ संस्थामा आबद्ध थिए । हरेक समय सामाजिक क्षेत्रमा आफ्नो जीवन व्यतित गरेका भण्डारी समाजमा परेका हरेक समस्याहरुसँग पौठेजोरी गर्दै सामाजिक विकासमा तल्लिन रहँदै आएका थिए ।


उनको निधनले यतिबेला सिंगो ताप्लेजुङ शोकमग्न बनेको छ । सिदिङ्वा गाउँपालिकाका अध्यक्ष नरबहादुर कडरियाले पार्टी योद्धाका रुपमा रहेका भण्डारीको निधनले सिंगो जिल्लालाई ठूलो क्षति भएको बताए । ‘हामीले एक हनोहार पार्टी योद्धा तथा सामाजिक अभियान्ता गुमाएका छौँ’ कांग्रेसका जिल्ला सभापति समेत रहेका गाउँपालिका अध्यक्ष कडरियाले भने–‘पार्टीको एक हनोहार अनि सामाजिक क्षेत्रमा क्रियाशील एउटा सफल अभियान्ता गुमाउनु पर्दा पार्टी पङक्ति मात्र होइन सिंगो जिल्लामा क्षति भएको छ ।’


भण्डारीको निधन भएसँगै यति बेला ताप्लेजुङबासीले सामाजिक सञ्जालमार्फत उनीप्रति श्रद्राञ्जली अर्पण गरिरहेका छन् । सबै पार्टीसँग सहकार्य गर्न सक्ने फरक क्षमता भएका भण्डारी मेहेले क्षेत्रका लागि एक अभिभावक गुमाएको दिपक कडरिया बताउँछन् । शालिन व्यक्तित्व, मिठो बोली बचन अनि सबैलाई समेटेर अघि बढ्ने उनको क्षमतालाई यस क्षेत्रमा सबै पार्टीपङकितमा अभिभावक मान्ने गरेका थिए । उनका एक श्रीमति, ४ छोरा र ६ छोरी रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्