१८ घण्टासम्म खटेर भएपनि मेलम्चीको पानी काठमाडौंमा वितरण गर्छौं : कर्मचारीहरु

काठमाडौं, पुस । मेलम्चीको पानी काठमाडौं उपत्यकामा आपूर्ति गर्न आफूहरु सक्षम र तयार रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का कर्मचारीहरुले बताएका छन् ।
केयुकेएल अन्तर्गतका कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी संगठन र स्वतन्त्र कर्मचारी संगठनको शुक्रबार भएको एकता भेलामा कर्मचारीहरुले १८ घण्टासम्म खटेर भएपनि मेलम्चीको पानी काठमाडौं उपत्यकामा सहज ढंगले वितरण गर्न सक्षम रहेको बताएका हुन् ।


खानेपानी मन्त्री बीना मगरको प्रमुख आतिथ्यमा सम्पन्न भएको भेलामा कर्मचारी युनियन एकीकरण कार्यदलका उपसंयोजक सुरेश कर्माचार्यले मेलम्चीको पानी काठमाडौं उपत्यकामा वितरण गर्न आफूहरु १८ घण्टासम्म खट्न तयार रहेको बताउनुभयो । कर्माचार्यले मेलम्चीको पानी उपत्यकाबासीलाई खुवाउन केयुकेएलका कर्मचारीहरु दिनरात खटिन तयार रहेको प्रतिबद्धता जनाउनुभयो । भेलालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “मेलम्ची आएपछि हामी पानीको आपूर्ति व्यवस्थापन गर्न सक्षम छौं ।

दिनरात नभनी काम गर्छौं । हामी आफैं सक्षम छौं ।”
भेलामा अधिकांश कर्मचारीहरुले छिटो भन्दा छिटो मेलम्चीको पानी ल्याउन सरकारले कुनै कसर बाँकी राख्न नहुने बताएका थिए । भेलालाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले केही तत्वहरुले भ्रम फैलाउन खोजे पनि मेलम्चीको पानी काठमाडौंमा ल्याएरै छाड्ने प्रतिबद्धता जनाउनुभयो । केही त्यस्ता तत्वहरुले मेलम्ची नआओस् भन्ने चाहेको बताउँदै उहाँले भन्नुभयो, “ मेलम्ची राष्ट्रिय गौरवको आयोजना भएकाले सरकारलाई बिफल बनाउन स्वार्थ बोकेर केही व्यक्ति लागेका छन् ।

सरकारप्रति जनताको अविश्वास पैदा गराउन केही व्यक्तिले भ्रम सिर्जना गरिरहेका छन् । तर सरकार कहीँ कतै विचलित हुने छैन । काममा दृढ संकल्पका साथ मन्त्रालय अघि बढेको छ ।”
मन्त्री मगरले मेलम्चीको पानी काठमाडौं उपत्यकामा सहज ढंगले वितरण गर्न कर्मचारीहरुमा सामूहिक प्रतिबद्धता आवश्यक रहेको औंल्याउनुभयो । उहाँले मेलम्ची आयोजना मात्रै नभई देशैभरि रहेका मुख्य मुख्य शहरहरुमा खानेपानीको आपूर्ति गर्न केही ठूला आयोजनाहरु सुरु गर्न लागिएको जानकारी दिनुभयो ।

खानेपानी तथा सरसफाईको क्षेत्रमा पहिलो पटक मन्त्रालयले साझा ऐन कानुन बनाउन लागिएको उहाँले स्पष्ट पार्नुभयो । अहिलेको अवस्था र भोलिको आवश्यकतालाई ध्यानमा राखेर खानेपानीको क्षेत्रमा विधेयक बनाउन लागिएको उहाँको भनाई छ ।


प्रतिक्रिया दिनुहोस्