बागमतीको स्वरुप फेर्न तीन ठाउँमा बन्दैछ फोहोर पानी प्रशोधन केन्द्रहरु

ललितपुर, पुस / ललितपुरको बालकुमारीस्थित फोहोर पानी प्रशोधन केन्द्र निर्माणको बिहीबार शिलान्यास गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एक समारोहका बीच फोहोर पानी प्रशोधन केन्द्रको शिलान्यास गर्नुभएको हो ।

बालकुमारीको कोड्कुमा निर्माण हुने प्रशोधन केन्द्रको कुल लागत ६० करोड ७५ लाख रुपैंया रहेको छ । दैनिक १ करोड ७५ लाख लिटर फोहोर पानी प्रशोधन गर्ने क्षमता रहेको उक्त आयोजनाको निर्माण कार्य चीनको साफबोन वाटर सर्भिस होल्डिङ कम्पनीले गरिरहेको छ । अबको साढे २ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) र साफबोन कम्पनीबीच सम्झौता भईसकेको छ ।

सम्झौता अनुसार यस प्रशोधन केन्द्रको सञ्चालन तथा मर्मत कम्पनीले निर्माण सकिएपछि ५ वर्षसम्म गर्नेछ । यस प्रशोधन केन्द्रले ५ हजार ८४ हेक्टर क्षेत्रफलमा फैलिएको गठ्ठाघर, मनोहरा र बालकुमारी लगायतका क्षेत्रहरुमा बसोबास गर्ने करिब ३ लाख ८० हजार जनसंख्यालाई लाभ पु¥याउने लक्ष्य राखेको छ । साथै यस प्रशोधन केन्द्रमा दैनिक ३ दशमलब २ टन मलका साथै बायो ग्यास समेत उत्पादन हुनेछ । कुनै किसिमको गन्ध नआउने गरी अत्याधुनिक प्रविधि मार्फत ढल तथा फोहोर पानीको प्रशोधन गरिने आयोजनाका आयोजना निर्देशक तिरेश प्रसाद खत्रीले जानकारी दिनुभयो । निर्देशक खत्रीका अनुसार प्रशोधन गरिसकेको पानीलाई सफाई तथा सिंचाई लगायत विभिन्न कार्यहरुमा प्रयोग गर्न सकिनेछ ।

खानेपानी मन्त्रालयले काठमाडौं उपत्यकामा बालकुमारीसँगै सल्लाघारी र धोविघाटमा समेत फोहोर पानी प्रशोधन केन्द्र निर्माण गर्न लागेको छ । गुह्येश्वरीमा भने ७५ प्रतिशत भन्दा बढी काम सकिएको निर्देशनालयले जनाएको छ । सल्लाघारीमा दैनिक १ करोड ४२ लाख लिटर र धोबिघाटमा दैनिक ७ करोड ४० लाख लिटर फोहोर पानी प्रशोधन गरी बागमतीमा खसाल्ने लक्ष्य राखिएको छ । यी तीन वटै फोहोर पानी प्रशोधन केन्द्र निर्माण भईसकेपछि काठमाडौं उपत्यकामा रहेका कुल जनसंख्या मध्ये करिब ३० लाख जनसंख्या प्रत्यक्ष लाभान्वित हुनेछन् । सिंगो बागमतीको स्वरुप फेर्न प्रशोधन केन्द्रहरु निर्माण गर्न लागिएको आयोजना निर्देशक खत्रीको भनाई छ ।


काठमाडौं रहेका यी तीन वटै प्रशोधन केन्द्रको कुल निर्माण लागत करीब ४ अर्ब रहेको छ । प्रशोधन केन्द्रबाट प्रतिघण्टा ३०५ किलोवाट विद्युत उत्पादन हुनेछ । साथै प्रशोधनबाट दैनिक १७.८ टन मल उत्पादन र केही मात्रामा बायोग्यास समेत उत्पादन हुनेछ । काठमाडौं उपत्यकाका यी तिनैवटा प्रशोधन केन्द्रबाट प्रशोधित भईसकेको पानी सिंचाई, सडक सरसफाई, औद्योगिक चिस्यान र पार्क लगायतका काममा प्रयोग गर्न सकिने आयोजना निर्देशनालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्