वन जोगाई स्वच्छ वातावरण निर्माण गर्न ताप्लेजुङमा तालिम सञ्चालन

ताप्लेजुङ २४ पौष। ताप्लेजुङमा वन सम्पदाको संरक्षणका लागि सामुदायिक वन उपभोक्ता समूहका सदस्यलाई तालिम प्रदान गर्न थालिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ ताप्लेजुङले जिल्लाका विभिन्न क्षेत्रका सामुदायिक वन उपभोक्ता समूहका सदस्यहरुलाई तालिम दिन थालेको हो ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघका अध्यक्ष सुरज ओझाका अनुसार जिल्लाको पश्चिमी मैवाखोला र आठराई त्रिबेणी गाउँपालिका अन्तर्गतका सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीसहितका सदस्यहरुलाई हाल वन संरक्षणसम्बन्धि विभिन्न तालिमहरु प्रदान गरिँदै आएको छ । वन विनासलाई नियन्त्रण गरी पर्यावरण जोगाउन साथै स्वच्छ वातावरण निर्माण गर्ने उद्देश्यले तालिमहरु सञ्चालन गरिँदै आएको महासंघका जिल्ला अध्यक्ष ओझाले जानकारी दिएका छन।

वन व्यवस्थापन गर्ने, प्राकृतिक रुपमा रहेका पानीको मुहान संरक्षण गर्ने, पोखरीहरु संरक्षण गर्ने लगायतमा तालिम केन्द्रित रहेको पनि ओझाले बताए । विश्ववन्यजन्तु कोष र तिनजुरे मिल्के जलजले क्षेत्र संरक्षण आयोजनाको सहयोगमा हाल मैवाखोलाको नेरुवा रमिते सामुदायिक वन, रमिते सामुदायिक वन, जगेडारानी सामुदायिक वन, गोरुजुरे हात्तीसुँढे सामुदायिक वन, सुदपा सामुदायिक वन र आठराई त्रिबेणी गाउँपालिको कोलबोटेकाली सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी तथा सदस्यहरुलाई उक्त तालिमहरु प्रदान गरिँदै आएको जिल्ला महासंघका कोषाध्यक्ष घनेन्द्र थापाले जानकारी दिए ।

वन संरक्षणसम्बन्धी तालिमसँगै झाडी फडानी, वृक्षारोपण लगायतका क्रियाकलापहरु समेत गर्दै आएको थापाले बताए । हालसम्म विभिन्न सामुदायिक वन क्षेत्रका करिव ११ हेक्टर क्षेत्रफल बढीमा झाडी फडानीको कार्य सम्पन्न भइसकेको जिल्ला महासंघले जनाएको छ । यसै अभियान अन्तर्गत एक हजार ६०० बढी विभिन्न जात अर्थात सम्बन्धित वन क्षेत्रको माटो सुहाउँदो बिरुवाहरु रोप्ने कार्य पनि रहेको तर, तत्कालको मौसम सुख्खा भएकाले केही समयपछि सो परिमाणमा बिरुवाहरु रोप्ने योजना बनाएको समेत जिल्ला महासंघका अध्यक्ष ओझाले जानकारी दिए ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघले सञ्चालन गर्दै आएको उक्त कार्यहरुको १ नं। प्रदेशका प्रदेशसभा सदस्य टङ्क आङ्बुहाङ, मैवाखोला गाउँपालिका अध्यक्ष राजनकुमार थक्लुङ, डिभिजन वन कार्यालय ताप्लेजुङका प्रतिनिधि, सञ्चारकर्मी लगायतबाट अवलोकन तथा निरीक्षण समेत भएको छ ।

केही समयअघि रमिते सामुदायिक वन उपभोक्ता समूह मैवाखोला फाकुम्बामा सञ्चालित वन व्यवस्थापन सम्बन्धी तालिम समापनपछि सो समूहले आयोजना गरेको अन्तक्र्रियामा प्रदेशसभा सदस्य आङ्बुहाङले वन विनासले पानीको मुहान सुक्दै गएको र जङ्गली जनावरहरुको अस्तित्व संकटमा पर्दै गइरहेको अवस्थामा वन संरक्षणसम्बन्धी तालिम लगायतका क्रियाकलापले सहयोगी भूमिका खेल्ने बताए । उनले वन व्यवस्थापन सम्बन्धी आवश्यक तालिम लगायतका क्रियाकलापहरु गरेर वन वातावरण जोगाउनमा सधैं योगदान गर्न सामुदायिक वन उपभोक्ता महासंघलाई आग्रह पनि गरे ।

डिभिजन वन कार्यालय ताप्लेजुङका प्रमुख श्री मोहनलाल कर्णले वनजङ्गलको संरक्षण गर्न तथा वन वातावरण जोगाउनमा सामुदायिक वन उपभोक्ता महासंघ नेपाल (फेकोफन)ले महत्वपूर्ण योगदान पु¥याउँदै आएको बताए । डिभिजन वन अधिकृत कर्णले आगामी दिनमा पनि डिभिजन वन कार्यालय र फेकोफनबीच वन संरक्षण सम्बन्धी सहकार्य गर्दै जान सकिने धारणा राख्नुभयो ।


प्रतिक्रिया दिनुहोस्