संसारकै अत्याधुनिक प्रविधिबाट वीर अस्पतालमा क्यान्सरको उपचार हुने

काठमाडौं माघ २७ / क्यान्सररोगीलाई रेडियोथेरापी दिने संसारकै अत्याधुनिक उपकरण ‘टोमोथेरापी’ केही दिनमै वीर अस्पतालमा जडान गरिने भएको छ।

भारतमा पनि तीन ठूला अस्पताल मेदान्त, कोलकाता टाटा मेमोरियल र मुम्बई टाटा मेमोरियलमा मात्रै भएको यो मेसिन चार वर्षको पहलपछि नेपालमा पहिलोपटक ल्याइएको हो ।

२० वर्ष पहिले ल्याइएको कोबाल्ट मेसिन ०७२ मा बिग्रिएपछि वीरमा क्यान्सररोगीलाई रेडियोथेरापी सेवा पूर्ण रूपमा बन्द भएको थियो।टोमोथेरापी नेपाल भित्रिएको तीन महिना भइसके पनि वीरमा बिग्रिएको कोबाल्ट हटाउन नसक्दा प्रयोगमा ल्याउन सकिएको छैन।

सोमबार कोबाल्ट हटाएर केही दिनमै टोमोथेरापी जडान गर्ने तयारी भइरहेको वीरका क्यान्सर विभाग प्रमुख डा‍‍ विवेक आचार्यले बताए।अमेरिकी प्रविधियुक्त टोमोथेरापी ४० करोडमा खरिद गरिएको हो।

‘टोमोथेरापीले क्यान्सरको ट्युमरमा मात्रै विकिरण फाल्छ।

एक बिरामीलाई थेरापी दिन १५ मिनेट समय लाग्छ,’ उनले भने, ‘वीरमा दैनिक ६५ जनासम्म क्यान्सरका बिरामीलाई सेवा दिनुपर्ने हुन्छ। यसकारण जनशक्ति नथप्दा भने सेवा प्रवाहमा समस्या हुन सक्छ।’

सुरक्षाका लागि टोमोथेरापी सशस्त्र प्रहरीको अस्पताल बलम्बुमा राखिएको छ। भारतीय कम्पनी बिग्रिएको कोबाल्ट मेसिन लैजान तयार भएपछि उपकरण र जनशक्ति नेपाल आइसकेका छन्। मेसिन बोक्ने ट्रेन सोमबार वीरमा आइपुग्नेछ।

रेडिएसनले असर गर्ने भएकाले कम्पनीले भारत नै लगेर कोबाल्ट नष्ट गर्न लागेको हो ।आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले यो समाचार लेखेका छन्।


प्रतिक्रिया दिनुहोस्