बालिकालाई करणी गर्ने दुई युवा पक्राउ


ताप्लेजुङ समाचारदाता
ताप्लेजुङ, फागुन १३ गते । ताप्लेजुङमा एक बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा दुई युवा पक्राउ परेका छन् । गाउँमा विवाहमा गएका बेला एक १४ वर्षीया बालिकालाई करणी गरेको आरोपमा फक्ताङ्लुङ गाउँपालिकाका २३ वर्षीय पेम्बाग्याबु शेर्पा र १८ वर्षीय निमाछिरिङ शेर्पा पक्राउ परेका हुन् ।


जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ सञ्चार शाखाका अनुसार गएको बिहीबार पीडित बालिकालाई विवाह घरदेखि केही टाढा एकान्त जङ्गलमा लगेर शेर्पा द्वयले जबरजस्ती करणी गरेका थिए । जबरजस्ती करणी घटनाको उजुरी जिल्ला प्रहरी कार्यालयमा परेपछि प्रहरी निरीक्षक नेतृत्वको टोली घटना भएको स्थलमा पुगेर घटनाको मुचुल्का उठाउनुका साथै पीडकहरुलाई पक्राउ गरेको जनाइएको छ ।


यता पक्राउ परेका दुवैजनालाई जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरेर हाल कारबाही प्रक्रिया अघि बढाएको प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो । यता पीडित बालिकाको जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको पनि प्रहरीले जानकारी दिएको छ ।
यसैबीच वैदेशिक रोजगार ठगी मुद्दाका दोषी ठरिएका मिक्वाखोला गाउँपालिका–४ साँबाका ४९ वर्षीय कमलकुमार भनिने मनकुमार साँबा लिम्बू कारागार चलान भएका छन् । स्थानीय सार्की शेर्पाले दिएको जाहेरीको आधारमा ठगी मुद्दा चलाइएका साँबालाई जिल्ला अदालतले दोषी ठहर गर्दै एक वर्ष छ महिना कैद र एक लाख ५० हजार रुपियाँ जरिवानाको फैसला सुनाएको थियो ।


फैसलापछि हालसम्म फरार रहेका साँबालाई गाउँमै लुकिछिपी रहेको अवस्थामा पक्राउ गरी जिल्ला अदालतमा उपस्थित गराएको र पुनः अदालतको आदेशअनुसार निजलाई तोकिएको कैद सजाय र जरिवाना रकमको थप एक वर्ष चार महिना दुई दिन कैद सजाय भुक्तानका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्