सेवासुविधा कटौती गरेकोभन्दै अनेरास्ववियुको विरोध


ताप्लेजुङ समाचारदाता
ताप्लेजुङ, फागुन १३ गते । ताप्लेजुङस्थित पाथीभरा बहुमुखी क्याम्पसमा अध्ययनरत बिद्यार्थीहरुले पाउँदै आएको सेवा सुविधा कटौती गरेकोभन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले विरोध गरेको छ । पछिल्लो समय क्याम्पस प्रशासन आपूmखुशी अघि बढ्दै गएको र संविधानमा व्यवस्था भएको बिद्यार्थीको अधिकार नै कुन्ठित गर्न खोजिएको भन्दै अनेरास्वविय पाथीभरा क्याम्पस सम्मेलन आयोजक समितिले उक्त कार्यको विरोध जनाएको हो ।

क्याम्पस प्रशासनले सेवासुविधा कटौती गरी बिद्यार्थीले प्राप्त गर्ने अधिकारबाट बञ्चित गराउन खोजिएकोभन्दै आइतबार अनेरास्ववियुले विभिन्न १३ बुँदे मागसहित क्याम्पस प्रमुख मोहनकुमार राईलाई ज्ञापनपत्र बुझाएको छ । संविधानले दिएको अधिकारमाथि कुन्ठित गरी क्याम्पसलाई निजी कम्पनीका रुपमा विकास गर्न खोजिएकाले सामुदायिक क्याम्पसकै रुपमा परिचित गराउनका लागि आफ्ना मागहरुसहित क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाएको अनेरास्ववियले जनाएको छ ।

अनेरास्ववियु पाथीभरा क्याम्पस सम्मेलन आयोजक समिति अध्यक्ष छत्र गुरुङ र सचिव अबिर यक्सो लिम्बूद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा क्याम्पसमा अध्ययनरत दलित, अपाङ्ग, जेहेन्दार र आर्थिक अवस्था कमजोर भएका बिद्याथीहरुलाई पूर्ण निःशुल्क छात्रवृतिको व्यवस्था गर्न माग गरिएको छ । यस्तै क्याम्पसमा अध्ययनरत सम्पूर्ण विद्यार्थी र अध्यापकहरुलाई डिजिटल परिचयपत्रसहित अनिवार्य पोशाकको व्यवस्था गर्न, प्रतीक्षालय र चमेनागृह तत्काल निर्माण गरी ग्रामीण क्षेत्रबाट अध्ययन गर्न आउने बिद्यार्थीका लागि छात्राबासको व्यवस्था गर्न माग गरिएको छ ।

यसैगरी क्याम्पसको विभिन्न तहको शुल्क निर्धारण गर्दा वैज्ञानिक रुपमा शुल्क निर्धारण गर्न र यसै वर्षदेखि शुरु गर्न लागिएको स्नातकोत्तर तहको प्रथम सेमेस्टारको शुल्कमा पुनःविचार गर्न लगायतका माग गरिएको छ । आफ्ना मागहरुमाथि सात दिनभित्र सकारात्मक पलहको शुरुवात नगरिए आन्दोलनमा जाने चेतावनी समेत अनेरास्ववियुले दिएको छ ।


प्रतिक्रिया दिनुहोस्