ताप्लेजुङको दुर्गम गाँउका युवाले बनाए सिसी क्यामेरालाई चुनौती दिँदै विश्वकै भिन्न प्रविधि

ताप्लेजुङ, १२, फागुन । ताप्लेजुङको दुर्गम गाँउका युवाले सिसी क्यामेरालाई चुनौती दिँदै विश्वकै भिन्न प्रविधि निर्माण गरेका छन् । मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका पूर्णकुमार लङवा लिम्बूले ‘अटो सेक्युरिटी सिस्टम’ नाम दिएर तयार गरेको यो प्रविधिले सेन्सरका माध्यमबाट एकै साथ फोटो र भिडियो लिनाका साथै मोबाइलमा फोन जानेसम्मको काम गर्छ ।

यसअघि उनले अटो पावर अन अफ नामक प्रविधि तयार गरि विद्युतको टर्वाइन स्वतः खुल्ने र बन्द हुने कार्य गर्ने प्रविधीको विकास गरिसकेका छन् । लाइटिङ कन्ट्रोल मेशिन तयार गरेर एक महिनासम्म स्थानीय जलविद्युत् आयोजनामा जडान गरी प्रयोगमा ल्याइएको थियो । यस प्रविधि चट्याङबाट हुने क्षतिलाई रोक्ने कार्य गथ्र्यो । चट्याङ पर्नुअघि नै विद्युत् जेनेरेटरलाई बन्द गर्ने क्षमताको उक्त प्रविधि बनाउन पनि एक महिना समय लागेको लिम्बुले जानकारी दिए।

मोबाइल सेट, मोबाइलकै क्यामेरा, रेडियोलगायतका पार्टस जडान गरेर झण्डै एक महिना समय समय लगाएर तयार गरेको उक्त प्रविधिले घरको कुनै पनि प्रवेशद्वारमा जडान गरेर राख्न सकिने यो प्रविधिले कोही मानिस ढोकाबाट भित्र प्रवेश गर्ना साथ फोटो र भिडियो कैद गर्न शुरु गर्छ भने मोबाइलमा फोनसमेत डायल हुन्छ । जुन नम्बर सेटिङ गरेर राखिएको हुन्छ, त्यही नम्बरमा फोन डायल हुन्छ । जब ढोकाबाट बाहिर निस्किएपछि उक्त प्रविधि निष्क्रिय हुन्छ ।

पारिवारिक अवस्था कमजोरलगायतका कारण कक्षा ८ सम्म मात्रै अध्ययन गर्न पाएका उनले सानैदेखि रेडियो, घडीलगायत इलेक्ट्रोनिक सामग्रीको मर्मत गर्ने कार्य गर्थे । “सानै उमेरदेखि रेडियो घडीको मर्मत गर्ने कार्य गर्दै आइयो, रेडियोमा भएका विभिन्न पार्टसले के के काम गर्छ भन्ने अध्ययन गर्दै गएपछि तिनै पार्टसबाट नयाँ नयाँ कुराको सिर्जना गर्न थालियो र अहिले आएर सबैलाई काम लाग्ने प्रविधिको विकास गर्न सफल भएँ,” लिम्बुले बताए । उमेरले २५ वर्षका लिम्बुले अब घरको ढोकालाई सेन्सरबाटै खोल्न र बन्द गर्न सकिने प्रविधि बनाउने सुनाए।

उनको कार्यलाई देखेर उनको परिवार मात्रै हैन, छरछिमेकीसमेत आश्चर्यमा पर्न थालेका छन् । सामान्य अध्ययन गरेका लिम्बुले कुनै ठाउँबाट तालीम नलिई घरैमा बसेर एकपछि अर्को प्रविधि तयार गर्दा उनीहरु आश्चर्यमा परेका हुन् ।

आर्थिक रुपमा कमजोर रहेका लिम्बुले विभिन्न सामग्रीको खरीद र सहजताका लागि राज्यले सहयोग गरे अझ नयाँ प्रविधिको निर्माणमा लाग्ने बताए । आफ्नो सीप र मिहेनतले राज्यलाई नै सहयोग पुग्नेमा आफू विश्वस्त रहेको बताउँदै लिम्बुले आफूले पनि सहयोग पाउनेमा ढुक्क रहेको बताए ।

केही दिनअघि मात्रै आफूले बनाएका सामग्री सदरमुकाममा ल्याएर सञ्चारकर्मीमाझ प्रदर्शनसमेत गरेका थिए । यसअघि विद्युत् कन्ट्रोल गर्ने सामग्री बनाएर देखाएका लम्बाले पछिल्लो समयमा अटो सेक्युरिटी नाम दिएर बनाएको एक प्रविधि जडान गरेर प्रदर्शन गरे।


प्रतिक्रिया दिनुहोस्