१४ वर्षीया बालिकालाई हत्या गरि फरार छ वर्षपछि पक्राउ

प्रयास लिम्बू
ताप्लेजुङ, फागुन १५ गते । ताप्लेजुङमा ज्यान मारेको आरोप लागेका फरार प्रतिवादी छ वर्षपछि पक्राउ परेका छन् । प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिका–४ लिङ्तेपका हिमाल भनिने २५ वर्षीय सागर केदेम लिम्बू पक्राउ परेका हुन् ।
पक्राउ परेका लिम्बूमाथि २०६९ सालमा मेरिङ्देन गाउँपालिकाकै वडा नं. ३ खाम्लुङमा छिमेकीको विवाहमा गएकी १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको र नमानेपछि कुटपिट गरी हत्या गरेको अभियोग लगाइएको छ । त्यसबेला बालिकालाई मरणासन्न हुनेगरी कुटपिट गरेर लिम्बू फरार भएका थिए ।
लिम्बूको कुटपिटबाट बालिकाको गर्धनमा गम्भीर चोट लागेको र तिघ्रा भाँचिएको थियो । घाइते बालिकाको वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गरिएको भए पनि सोही कुटपिटका कारण छ महिनापछि मृत्यु भएको थियो । बालिकाको मृत्यु भएपछि आफन्तले लिम्बू विरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेका थिए ।
हालसम्म फरार रहेका घटनाका आरोपित लिम्बूलाई खोजतलास गर्ने क्रममा लुकीछिपी बसेको अवस्थामा मङ्गलबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सञ्चार शाखाले जनाएको छ । पक्राउपछि जिल्ला अदालतबाट म्याद थपको अनुमति लिई लिम्बूउपर थप अनुसन्धान थालिएको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिनुभयो ।


प्रतिक्रिया दिनुहोस्