आज राति प्रिमियर लिगमा चेल्सी र टोटेनहम भिड्दै

एजेन्सी – इंग्लिस प्रिमियर लिगअन्तर्गत बुधबार लन्डनको दुई टोली चेल्सी र टोटेनहम हट्स्पर आमनेसामने हुँदैछन् । खेल नेपाली समयानुसार राति १स्४५ बजे स्टामफर्ड ब्रिजमा हुनेछ ।

चेल्सी आइतबर भएको लिग कप फाइनलमा म्यानचेस्टर सिटीसँग टाइब्रेकरमा पराजित हुँदै सिजनको पहिलो उपाधि जित्न असफल रहेको थियो । उक्त खेल गोलरक्षक केपा अर्रिजाबगला र प्रशिक्षक माउरिजियो सार्रीको विवादका कारण विशेष चर्चामा आएको थियो । त्यसयता दुवै प्रशिक्षक र गोलरक्षकले एक आपसमा समन्वय नहुँदा उक्त अवस्था सिर्जना भएको स्वीकारेका छन् । यद्यपी प्रशिक्षक सार्रीले केपालाई खेलाउने(नखेलाउनेबारे यकिन जानकारी दिएका छैनन् । चेल्सीले क्यलम हड्सन ओडोई र रुबेन लोफटस चेकलाई मौका दिने सम्भावना छ ।

यता टोटेनहमका प्रशिक्षक मौरीचियो पोचेटिनो पनि बर्नलीविरुद्ध पराजित भएपछि रेफ्रीसँग विवाद गरेका कारण कारवाहीमा पर्ने सम्भावना रहेको छ । उनले यस खेलका लागि एरिक डाएर र डेले अलीको साथ पाउने छैनन् । फरवार्ड ह्यारी केन पछिल्लो खेलमा चोटबाट फर्केर गोल गर्नु टोटेनहमका लागि सुखद पक्ष रहेको छ ।

टोटेनहमले प्रिमियर लिगमा पछिल्लो ४ खेलमा ३ पटक चेल्सीलाई पराजित गरेको छ । सन् १९७०(७१ यता चेल्सीले लिगको दुवै खेलमा चेल्सीसँग पराजय भोगेको छैन । चेल्सीले पछिल्लो १५ खेलमा जम्मा १८ गोल गरेको छ । सिजनको सुरुवाती ११ खेलमा चेल्सीले २७ गोल गर्न सफल भएको थियो । पोचेटिनोले चेल्सीविरुद्ध ४ खेल जितेका छन् । यो संख्या बाँकी सबै टोटेनहम प्रशिक्षकको सफलता जोडेभन्दा बढी हो ।


प्रतिक्रिया दिनुहोस्