पार्टी एकीकरण चाँडै गर्नुको विकल्प छैन : योगेश भट्टराई

प्रयास लिम्बू
ताप्लेजुङ, फागुन २३ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले चाँडै पार्टी एकीकरण गर्नुको विकल्प नरहेको बताउनुभएको छ । एकीकरण प्रक्रिया पूरा नहुँदा पार्टीलाई फाइदा भन्दा पनि बढी बेफाइदा हुने भएकाले चाँडै पार्टी एकीकरण गर्नुपर्ने प्रतिनिधिसभा सदस्य भट्टराईले बाउनुभयो ।

नेकपा ताप्लेजुङले बिहीबार सदरमुकाम फुङ्लिङमा आयोजना गरेको हेलिकोप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र स्वर्गीय पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीको श्रद्धाञ्जली सभालाई सम्बोधन गर्नुहुँदै नेता भट्टराईले एकीकरण चाँडै टुङ्ग्याउनका निम्ति पार्टीका दुवै अध्यक्षलाई आग्रह गर्दै आएको बताउनुभयो । एकीकरण प्रक्रिया लामो समयसम्म नटुङ्ग्याएमा पार्टीलाई क्षति हुने भएकाले ढिलो गर्नु नहुनेमा अध्यक्षद्वयलाई आपूmले सुझाव दिँदै आएको बताउनुभयो ।

तल्लो तहको कार्यकर्ता पङ्क्तिमा नैरास्यता बढ्दै जाने र अन्य पार्टीहरुबाट चलखेल पनि बढ्दै जाने भएकाले एकीकरण प्रक्रियामा ढिलाई गर्न नहुने भट्टराईको तर्क छ । दुई ठूला कम्युनिस्ट पार्टीबीचको एकता भएकाले केही असन्तुष्टि रहने भए पनि सन्तुष्टिको अनुपात बढी हुने हुँदा एकीकरणमा कुनै असर नपुग्ने उहाँले बताउनुभयो । एकीकरणको प्रक्रिया पूरा गरिहाले एकीकरण सँगसँगै असन्तुष्टिहरुको पनि अन्त्य हुने उहाँले बताउनुभयो ।
उहाँले हालको चार सय ४१ जना नेकपाका केन्द्रीय सदस्यहरुलाई इन्चार्ज र सह–इन्चार्ज तोकेर सबै जिल्लामा पठाउन सकिने बताउनुभयो । तोकिएका इन्चार्ज र सह–इन्चार्जलाई नै सम्बन्धित जिल्लाको पार्टी एकीकरणको जिम्मेवारी दिएर पठाएमा पनि पार्टी एकीकरणले तीब्रता पाउने उहाँको भनाइ छ ।
यस्तै नेता भट्टराई यो वर्ष तयारीको आधार वर्ष भएकाले देशमा विकास निर्माणले गति लिन नसकेको बताउनुभयो । देशको नयाँ संरचनासँगै नयाँ कानुन र नियम बनाउनुपर्ने भएकाले दुई तिहाइको कम्युनिस्ट सरकारमाथि जनताले अपेक्षा गरेअनुसार काम हुन नसकेको उहाँले बताउनुभयो । आगामी वर्षदेखि भने जनअपेक्षाभन्दा अझ द्रूत गतिमा देशको विकासले फड्को मार्ने उहाँले दावी गर्नुभयो ।
गणतान्त्रिक संविधान जारी भएपछि संविधानसँग बाझिएका एक सय ५० बढी कानुनहरुको वर्तमान सरकार र संसदले किनारा लगाएको बताउँदै उहाँले कानुन निर्माणको दृष्टिले यो वर्ष ठूलो उपलब्धि हासिल भएको बताउनुभयो । छोटो समयमा निर्माण भएका तिनै कानुनलाई टेकेर आगामी वर्षदेखि विकासले फड्को मार्ने उहाँको दावी छ ।
अब जिल्ला र गाउँको विकास निर्माणका लागि स्थानीय सरकार अधिकार प्रदत्त निकाय भएकाले सङ्घीय सरकारबाट नियम निर्माण हुने र सम्बन्धित ठाउँको आवश्यकता अनुसार विकास निर्माण स्थानीय सरकारले गर्ने पनि उहाँले बताउनभुयो । उहाँले आफ्नो क्षेत्रको आवश्यकतालाई हेरेरले सङ्घीय सरकारसमक्ष योजना माग गर्न पनि स्थानीय सरकारलाई आग्रह गर्नुभयो । स्थानीय तहलाई प्राप्त भएको हालको बजेटलाई दोब्बर बनाउने योजनामा सङ्घीय सरकार रहेको पनि उहाँले सुनाउनुभयो ।
श्रद्धाञ्जली सभामा नेताद्वय अधिकारीले पु¥याएको योगदानको चर्चा पनि नेता भट्टराईले गर्नुभयो । पार्टी, देश र जनताका लागि गरेको योगदानको चर्चा गर्दै उहाँहरुको निधनले पार्टीलाई अपुरणीय क्षति पुगेको उहाँले बताउनुभयो । कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश १ का अध्यक्ष देवराज घिमिरे, केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्बो, प्रदेश कमिटीका सदस्यहरु, प्रदेश सभाका सदस्यहरु, जिल्लास्तरीय नेता तथा कार्यकर्ता लगायतको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्