आधा दर्जन सामुदायिक वन उपभोक्ता समूहलाई कार्यालय सामग्री प्रदान

प्रयास लिम्बू
ताप्लेजुङ, फागुन २७ गते । ताप्लेजुङका आधा दर्जन सामुदायिक वन उपभोक्ता समूहलाई कार्यालय सञ्चालनका लागि विभिन्न सामग्री प्रदान गरिएको छ । सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल ताप्लेजुङले व्यवस्थित कार्यालय नभएका सामुदायिक वन उपभोक्ता समूहहरुलाई कार्यालय सञ्चालनका लागि दराज, टेबुल लगायतका सामग्री प्रदान गरेको हो ।

जिल्लाको मैवाखोला गाउँपालिकाअन्तर्गत रहेका पाँच र आठराई त्रिबेणी गाउँपालिकाको एक सामुदायिक वन उपभोक्ता समूहलाई कार्यालयसम्बन्धी सामग्री प्रदान गरिएको सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल, जिल्ला महासङ्घका अध्यक्ष सुरज ओझाले जानकारी दिनुभयो । ओझाका अनुसार कार्यालय सामग्री पाउनेमा मैवाखोला–३ को नेरुवा रमिते सामुदायिक वन उपभोक्ता समूह साँघु, सोही गाउँपालिका वडा नं. १ सुदपा सामुदायिक वन उपभोक्ता समूह ढुङ्गेसाँघु, वडा नं. ५ र ६ फाकुम्बाका रमितेफेदी सामुदायिक वन उपभोक्ता समूह, जगेडारानी सामुदायिक वन उपभोक्ता समूह र गोरुजुरे हात्तिसुँढे सामुदायिक वन उपभोक्ता समूह छन् ।

यस्तै आठराई त्रिबेणी–४ चाँगेको कोलबोटेकाली सामुदायिक वन उपभोक्ता समूहलाई पनि कार्यालयसम्बन्धी सामग्रीहरु प्रदान गरिएको जिल्ला महासङ्घका अध्यक्ष ओझाले जानकारी दिनुभयो । प्रत्येक समूहलाई ४० हजार रुपियाँ बराबरको एकथान स्टिल दराज, एकथान टेबुल, १५ थान रबर कुर्सी, रजिष्टर खाता लगायतका सामग्री उपलब्ध गराएको उहाँले बताउनभुयो । तिनजुरे मिल्के जलजले (टीएमजे) संरक्षण क्षेत्र आयोजनाको आर्थिक सहयोगमा उक्त सामग्रीहरु प्रदान गरेको महासङ्घले जनाएको छ ।
डिभिजन वन कार्यालय ताप्लेजुङमा दर्ता भई वन संरक्षण र व्यवस्थापनसम्बन्धी काम गर्दै आएका सामुदायिक वन उपभोक्ता समूहको कार्यालय स्थापना गरी सम्बन्धित समूहको कार्य सम्पादन गर्नमा सहज होस् भन्ने उद्देश्य राखेर सहयोग उपलब्ध गराएको पनि महासङ्घले जनाएको छ । आइतबार ढुङ्गेसाँघुको सुदपा सामुदायिक वन उपभोक्ता समूहलाई प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले कार्यालय सामग्रीहरु हस्तान्तरण गर्नुभएको महासङ्घ जिल्ला अध्यक्ष ओझाले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य वन समूहहरुलाई पनि सोही दिन सामग्रीहरु हस्तान्तरण गरिएको थियो ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल (फेकोफन) ले जिल्लाको विभिन्न क्षेत्रमा वन संरक्षणसम्बन्धी विभिन्न कार्यहरु गर्दै आएको छ । महासङ्घले वन जङ्गलको संरक्षण साथै वातावरण जोगाने कार्य अन्तर्गत नै स्थानीय स्तरमा रहेका सामुदायिक वन उपभोक्ता समूहहरुलाई वन व्यवस्थापनसम्बन्धी तालिम, झाडी फडानी, वृक्षारोपण लगायतका गतिविधि समेत गर्दै आएको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्