पत्नीको उपचार गर्न प्रचण्ड आज साँझ अमेरिका जाँदै,

काठमाडौं, ३ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि आज अमेरिका साँझ जाँदैछन् ।

प्रचण्ड र सीतासँगै छोरी गंगा र ज्वाईं जीवन आचार्य पनि अमेरिका जाँदैछन् । उनीहरु साँझ पाँच बजे अमेरिका प्रस्थान गर्ने प्रचण्डको सचिवालयले जानकारी दिएको छ । सीता लामो समयदेखि पार्किन्सन रोगले पीडित छिन् । छोरा प्रकाश दाहालको असामयीक निधनपछि उनलाई झन् रोगले च्यापेको छ ।

दुई महिना अघि पनि प्रचण्ड सीतालाई लगेर अमेरिका जाने तयारीमा थिए । तर भेनेजुएला प्रकरणमा नेकपाको तर्फबाट जारी गरिएको विज्ञप्तिले आलोचना भएपछि प्रचण्डले अमेरिका जाने कार्यक्रम स्थगित गरेका थिए ।

त्यसको केही दिनपछि नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले प्रचण्डलाई भेटेर अमेरिका जान सहजीकरण गरिदिएका थिए ।

यसअघि सीताको उपचार भारत र सिङ्गापुरमा पनि गरिएता पनि उनको स्वास्थ्यमा उल्लेख्य सुधार नभएको छोरी गंगाले बताइन् । ।


प्रतिक्रिया दिनुहोस्