ताप्लेजुङ नेकपाले स्थानीय तहको पार्टी एकता प्रक्रिया टुंग्यायो (विवरणसहित)

काठमाडौँ ४ चैत। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ताप्लेजुङका नौ स्थानीय तहको नेतृत्व टुंगो लगाएको छ। सुनसरीको इटहरीमा बसेको नेकपा बैठकले पूर्व एमालेबाट फुङ्लिङ नगरपालिका सहित चार गाँउपालिकामा अध्यक्ष र छ गाँउपालिकामा इञ्चार्ज तथा पूर्व माओवादीबाट चार गाँउपालिकामा अध्यक्ष र फुङ्लिङ नगरपालिका सहित तीन गाँउपालिकामा इञ्चार्जको जिम्मेवारीमा रहने गरी सहमति जुटाएको हो।

फुङ्लिङ नगरपालिकाको अध्यक्षमा पूर्व एमालेका हेमन्तकुमार उप्रेती र इञ्चार्जमा पूर्व माओवादीका सागर गौतम, सहइञ्चार्जमा पूर्व एमालेका भरतकुमार गुरुङ र सचिवमा पूर्व माओवादीका सुरेन्द्र पालुङ्वाको नाममा सहमति जुटेको छ। त्यसैगरि मैवाखोला गाउँपालिकाको अध्यक्षमा पूर्व एमालेका अनिलदेव लङ्वा र सचिवमा पूर्व माओवादीका आलोक शेर्पा, इञ्चार्जमा पूर्व माओवादीका ध्रुवकुमार वनेम र सहइञ्चार्जमा पूर्व एमालेका खेमबहादुर वनेम रहेको स्रोतको दाबी छ।

त्यस्तै आठराई त्रिवेणी गाउँपालिकाको इञ्चार्जमा पूर्व एमालेका कृष्ण सुवेदी तथा सहइञ्चार्जमा पूर्व माओवादी केन्द्रका सूर्य आङ्वुहाङ तथा अध्यक्षमा पूर्व माओवादीका मणि सेम्बु र सचिवमा पूर्व एमालेका दीपेन पोमूको नाम सिफारिस गरिएको छ।

उता मेरिङ्देन गाउँपालिकाको इञ्चार्जमा पूर्व एमालेका मंगलसिंह केदेम र सह इञ्चार्जमा पूर्व माओवादीका विशालु शेर्पा, अध्यक्षमा पूर्व एमालेका नेत्र नेपाली र सचिवमा पूर्व माओवादी केन्द्रका देउप्रसाद लिम्बूको नाम टुङ्गो लागेको हो।

शनिबार राति सम्पन्न बैठकले मिक्वाखोला गाउँपालिकाको पार्टी अध्यक्षमा पूर्व एमालेका दिवस लिवाङ र सचिवमा पूर्व माओवादीका खड्ग साँवा तथा पूर्व माओवादी केन्द्रका चन्द्रकला गुरुङ इञ्चार्ज तथा पूर्व एमालेका ताराहाङ लिम्बूलाई सहइञ्चार्जको जिम्मेवारी दिइएको छ।

सँगै सिदिङ्वा गाउँपालिकाको इञ्चार्जमा पूर्व एमालेका नन्दलाल गौतम तथा सह इञ्चार्जमा पूर्व माओवादी केन्द्रकी बन्दना कडरिया, अध्यक्षमा पूर्व माओवादी केन्द्रका प्रेम सेलिङ तथा सचिवमा पूर्व एमालेका मानबहादुर राई रहने गरी सहमति जुटेको छ।

सिरीजङ्गा गाउँपालिकाको इञ्चार्जमा पूर्व एमालेका अनन्तबहादुर साँवा तथा सह इञ्चार्जमा पूर्व माओवादी केन्द्रका मदन दाहालको नाम सिफारिस हँुदा अध्यक्षमा पूर्व माओवादी केन्द्रका तेजशमशेर भट्टराई अध्यक्ष तथा पूर्व एमालेका सन्तोष चाम्लिङलाई सचिवको जिम्मेवारी दिने निर्णय गरिएको छ।

यस्तै, पाथीभरा याङ्वरक गाउँपालिकाको अध्यक्ष पूर्व एमालेका पुण्यप्रसाद खतिवडा र सचिव पूर्वमाओवादी केन्द्रका भीम काङ्वा तथा इञ्चार्जमा पूर्व एमालेका केशरकुमार मेन्याङ्वो र सहइन्चार्जमा पूर्व माओवादी केन्द्रका ठाकुरसिंह लिम्बू रहने छन्।

यस्तै फक्ताङ्लुङ गाउँपालिकाको इञ्चार्जमा पूर्व एमालेका सरोज एभेङ तथा सहइञ्चार्जमा पूर्व माओवादीका मानबहादुर केसी तथा अध्यक्षमा पूर्व माओवादी केन्द्रका दिलकुमार लिम्बू र सचिवमा पूर्व एमालेका मिलन साउदेनको नाम सिफारिस भएको छ। इन्चार्ज सरोज एभेङ सो गाउँपालिकाका अध्यक्ष हुन्। तर पार्टी एकता कार्यदलले औपचारिक रुपमा निर्णय सार्वजनिक गरेको छैन।


प्रतिक्रिया दिनुहोस्