नेपाल र जापानबीच श्रम सम्झौता,न्यूनतम तलब दुई लाख

काठमाडौं, ११ चैत । नेपाल र जापानबीच श्रम सम्झौता भएको छ । सम्झौतामा नेपालको तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह सचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानका राजदूत मासाशी ओगावाले हस्ताक्षर गरेका छन् ।

भाषा परीक्षामार्फत् जापान जाने कामदारको न्यूनतम तलब दुई लाख रुपैयाँ हुने छ । अप्रिल १ देखि कार्यान्वयनमा आउने गरी दुई देशबीच कामदारको क्षेत्रमा सहकार्यको समझदारी ९एमओसी० मा हस्ताक्षर भएको हो । सम्झौताअनुसार अब जापानले कोरियन मोडलमै नेपाली कामदार लैजाने छ ।

नेपालले जापान जान धेरै आर्थिक भार पार्न नहुने, कामदारको स्वास्थ्य, सुरक्षाको ग्यारेन्टी, अन्तर्राष्ट्रिय मूल्यमान्यताअनुसार सेवासुविधा पाउनुपर्नेलगायत प्रस्ताव राखेको छ । जापानले विदेशी कामदार लैजान ‘ब्लु कलर’ कामदारसहित निश्चित सीपका आधारमा दुई किसिमको भिसा व्यवस्था गर्दै छ ।
नयाँ भिसाका लागि कामदारले अनिवार्य सीपसहितको भाषा परीक्षा पास गर्नुपर्नेछ । दोस्रो भिसा श्रेणीमा राखिएको उच्चस्तरको व्यावसायिक सीपयुक्त जनशक्तिका लागि भने तत्कालै भाषा परीक्षा हुने सम्भावना कम रहेको बताइएको छ । पाँच वर्षका लागि तीन लाख ४५ हजारलाई कामको अनुमति दिइने र त्यसमा नेपाली पनि परेको जनाइएको छ । जापानले नेपालसहित नौ देशबाट कामदार लैजान थालेको हो ।


प्रतिक्रिया दिनुहोस्