सनको गोलमा टोटेनहमसँग म्यानचेस्टर सिटी पराजित

एजेन्सी / युरोपेली च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा म्यानचेस्टर सिटीलाई
टोटेनहम हट्सपरले १-० गोल ले पराजित गरेको छ ।


दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले दोस्रो हाफको ७८ अौं मिनेटमा पेनाल्टी क्षेत्रभित्र एकल प्रयासमा गोल गर्दै टोटेनहमलाई जितनजिक पुर्याएका थिए । त्यसअघि टोलीका मुख्य फरवार्ड ह्यारी केन चोट बोक्दै बाहिरिएपछि टोटेनहम समस्यामा परेको थियो । तर सनले क्रिस्टियन एरिक्सन, डेले अली र लुकास मोउरासँग मिलेर आक्रमणलाई बलियो बनाइरहे ।

पहिलो हाफमा म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अगुएरोले पेनाल्टी चुकाउँदा सिटीले अग्रता लिन असफल रहेको थियो । अगुएरोको प्रहारलाई टोटेनहमका कप्तान तथा गोलरक्षक ह्युगो लोरिसले बचाएका थिए ।

रेफ्रीले ड्यानी रोजको ह्यान्ड बललाई भिडियो असिस्टेन्ट रेफ्रीको सहारा लिएर सिटीलाई पेनाल्टी दिएका थिए । पहिलो लेगमा १-० ले पछाडी परेको सिटीले दोस्रो लेग घरेलु मैदानमा खेल्नेछ ।


प्रतिक्रिया दिनुहोस्